spot_img

उपचारको पीडाबाट जन्मिएको फत्तेबाल आँखा अस्पताल, दुई पुस्ताद्वारा अर्बौंको सम्पत्ति दान

spot_img
spot_img

नेपालगन्ज,१७ कार्तिक  । व्यक्तिगत स्वास्थ्य समस्याबाट सुरु भएको एउटा सामाजिक सेवाको संकल्प आज पश्चिम नेपालको आँखा उपचार क्षेत्रको महत्वपूर्ण आधार बनेको छ। नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालको इतिहास एउटा परिवारले भोगेको उपचारको कठिनाइ र त्यसलाई समाजको सेवामा रूपान्तरण गरेको प्रेरणादायी कथासँग जोडिएको छ।

२०३८/३९ सालतिर कप्तान फत्तेजंग शाहकी पत्नी बालदिव्येश्वरी शाहको आँखामा समस्या देखियो। त्यस समयमा नेपालगन्ज मात्र नभई काठमाडौंमा समेत आँखाको उपचारका लागि पर्याप्त सुविधा थिएन। फलस्वरूप उपचारका लागि उनलाई भारतको उत्तर प्रदेशस्थित सीतापुर लैजानुपरेको थियो।

आफ्नै परिवारले आँखाको उपचारका लागि विदेश जानुपर्ने बाध्यता भोगेपछि शाह दम्पतीले नेपालगन्ज र आसपासका सर्वसाधारणले पनि यस्तै समस्या झेलिरहेको महसुस गरे। विशेषगरी आर्थिक अवस्था कमजोर भएका नागरिकले समयमै उपचार नपाउँदा अन्धोपनको जोखिम व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरूले आफ्नै क्षेत्रमा आँखा अस्पताल स्थापना गर्ने संकल्प गरे।

त्यही संकल्पलाई व्यवहारमा उतार्दै २०४२ साल फागुन ११ गते शाह दम्पतीले नेपालगन्जको फुल्टेक्रास्थित आफ्नो २० कोठे पुरानो घरसहित जग्गा आँखा अस्पताल स्थापनाका लागि दान गरे। उक्त दानबाट प्राप्त सम्पत्तिमा २०४३ सालमा १० शय्याबाट फत्तेबाल आँखा अस्पतालले उपचार सेवा सुरु गर्‍यो।

कप्तान फत्तेजंग शाह र उनकी पत्नी बालदिव्येश्वरी शाहको नामबाट अस्पतालको नाम फत्तेवाल राखिएको हो। अस्पताल स्थापनाका लागि नेपाल नेत्रज्योति संघ र स्विस रेडक्रसलगायतका संस्थाले समेत सहयोग गरेका थिए।

मातापिताले सुरु गरेको सामाजिक सेवाको अभियानलाई निरन्तरता दिँदै दोस्रो पुस्ताले पनि आफ्नो निजी सम्पत्ति समाजका लागि समर्पण गरेको छ। उनका छोरा श्रीजंग शाह र बुहारी रुद्रकुमारी शाहले २०७४ सालमा काठमाडौंको कान्तिपथस्थित आफ्नो निजी घर तथा जग्गा फत्तेबाल आँखा अस्पताललाई दान गरेका थिए।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार उक्त सम्पत्तिको तत्कालीन चलनचल्तीको मूल्य करिब एक अर्ब रुपैयाँ थियो। यससँगै शाह परिवारका दुई पुस्ताले आफ्नो निजी सम्पत्ति आँखा उपचार सेवाको विस्तार र निरन्तरताका लागि समर्पण गरेका छन्।

व्यक्तिगत पीडालाई सामाजिक सेवामा बदल्दै सुरु गरिएको फत्तेबाल आँखा अस्पतालको मुख्य उद्देश्य पश्चिम नेपालका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउनु तथा अन्धोपन न्यूनीकरण गर्नु हो। विशेषगरी यस अस्पतालको मुख्य उदेश्य गरीब, दुःखी, विपन्न परिवारको आँखा उपचारको गर्नु गरेको छ ।

निजी सम्पत्तिलाई सामाजिक सेवामा समर्पण गर्ने शाह परिवारको यो योगदानले स्वास्थ्य क्षेत्रमा सेवाभाव, सामाजिक उत्तरदायित्व र परोपकारको एउटा उदाहरण प्रस्तुत गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय