काठमाडौं,१७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राष्ट्रियता, लोकतन्त्रको रक्षा र अग्रगामी रूपान्तरणको जिम्मेवारी कम्युनिस्ट शक्तिहरूकै काँधमा रहेको बताएका छन्।
मंगलबार पेरिसडाँडामा उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले छरिएर रहेका क्रान्तिकारी वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका हुन्।
नेता नेपालले कम्युनिस्ट आन्दोलनमा एकता, विभाजन, विद्रोह र समायोजनका शृङ्खला लामो समयदेखि चल्दै आएको उल्लेख गर्दै पूर्वाग्रह र आशङ्का त्यागेर निःस्वार्थ भावनाका साथ आन्दोलनलाई अघि बढाउनुपर्ने बताए।
‘विगतमा चिरण पुनलगायतका कमरेडहरू पहिलो चरणमा विद्रोह गरेर आउनुभयो, आज तपाईंहरू दोस्रो चरणमा आउनुभएको छ। अब आउनेहरूले विद्रोह नै गर्नुपर्दैन, सरक्कै आए पुग्ने वातावरण बन्दैछ,’ उनले भने।
नेतृत्वमा अनावश्यक महत्त्वाकाङ्क्षा राख्न नहुने उल्लेख गर्दै नेपालले व्यक्तिको क्षमता र योगदानको मूल्याङ्कन पार्टी र जनताले गर्ने बताए। उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कम्युनिस्ट आन्दोलनमा समर्पित हुन सबैलाई आग्रह गरे।
नेपालले आगामी जेठभित्र स्थानीय तहसँगै प्रदेश तहको निर्वाचनसमेत हुन सक्ने सम्भावना रहेको भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई तत्काल चुनावी तयारीमा जुट्न निर्देशन दिए। सरकार र निर्वाचन आयोग निर्वाचनको तयारीमा लागिसकेको तथा अन्य दलसमेत परिचालित भइसकेको उनको भनाइ थियो।
उनले प्रत्येक जिल्ला, पालिका र वडा तहमा पार्टीको वास्तविक अवस्थाको समीक्षा गर्दै सङ्गठनलाई बलियो बनाउनुपर्नेमा जोड दिए। आगामी मङ्सिरमा गर्ने सोच बनाइएको पार्टी महाधिवेशन पनि चुनावको सम्भावनालाई ध्यानमा राखेर पछि सार्नुपर्ने उनले बताए। अहिले महाधिवेशनभन्दा सङ्गठन सुदृढीकरण र चुनावी तयारीलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
एकताका लागि आह्वान गर्दै नेता नेपालले नारायणमान बिजुक्छे, मोहनविक्रम सिंह र मोहन वैद्यलगायत अग्रज वामपन्थी नेताहरूलाई पनि वर्तमान राजनीतिक परिस्थितिको गम्भीरता बुझेर बृहत् एकता र ध्रुवीकरणमा सहभागी हुन आग्रह गरे।
समाज रूपान्तरण र परिवर्तनको नेतृत्व कम्युनिस्ट शक्तिहरूले नै गर्न सक्ने दाबी गर्दै उनले जनताको जीवनस्तर सुधार र लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने बताए।




