वीरगंज, १७ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई जितका लागि ९८ रनको झिनो लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ९७ रन जोड्न सक्यो। पोखराका ब्याटरहरू लुम्बिनीका बलरसामु क्रिजमा टिक्न संघर्षरत देखिए।
पोखराका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए भने कुशल भुर्तेलले १४, मेहदी हसनले १३ तथा किरण ठगुन्नाले १२ रनको योगदान दिए। टोलीका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
पोखरालाई सस्तैमा समेट्ने क्रममा लुम्बिनी लायन्सका रुबेन ट्रम्पलमानले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। त्यस्तै तिलक भण्डारीले २ विकेट तथा शेर मल्ल, रोहित पौडेल र अभिशेष गौतमले १–१ विकेट हात पारे।




