काठमाडौँ,१८ कार्तिक । भारतका विदेश सचिव विक्रम मिस्री आज नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाली परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबीच द्विपक्षीय भेटवार्ता हुनेछ। भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हित र चासोका विभिन्न विषयमा छलफल हुने कार्यक्रम रहेको छ।
दुई देशबीच लामो समयदेखि कायम रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले भ्रमण हुन लागेको मन्त्रालयले जनाएको छ।
नेपाल बसाइका क्रममा विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्ने कार्यक्रम रहेको छ।
दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी भारतीय विदेश सचिव मिस्री कात्तिक १९ गते काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।




