वीरगंज, १८ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकी सुपरस्टार ब्याट्सम्यान डेभिड मिलर काठमाडौँ आइपुगेका छन्। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि कर्णाली याक्सका प्रतिनिधि तथा क्रिकेटप्रेमीहरूले उनलाई न्यानो स्वागत गरेका छन्।
विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मिलरले नेपाल आफ्नो लागि नयाँ गन्तव्य भएको र यहाँ आउन पाउँदा निकै उत्साहित रहेको बताए। ‘मैले लामो समयदेखि विश्वका धेरै ठाउँमा क्रिकेट खेलेको छु, तर नेपाल पहिलोपटक आएको हुँ। विमानबाटै यहाँका हिमाल र दृश्यहरू देख्दा साँच्चै अद्भुत लाग्यो,’ उनले भने।
सन् २०२४ को टी–२० विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई कडा टक्कर दिएको सम्झिँदै मिलरले नेपाली प्रशंसकहरूको खेलप्रतिको ऊर्जा र लगावको प्रशंसा गरे। एयरपोर्टमै समर्थकहरूको उत्साह महसुस गरेको बताउँदै उनले तीव्र रूपमा विकास भइरहेको नेपाली क्रिकेटमा त्यस्तै ऊर्जाको आवश्यकता रहेको टिप्पणी गरे।
कर्णाली याक्सको अहिलेसम्मको प्रदर्शनप्रति खुसी व्यक्त गर्दै मिलरले टिमले ३ मध्ये २ खेल जितिसकेको र बाँकी चार खेलमा आफूले जोडिएर सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
दक्षिण अफ्रिकी टोलीका विस्फोटक ब्याटर मिलरले कर्णाली याक्सका तर्फबाट आगामी शुक्रबार आफ्नो पहिलो म्याच खेल्नेछन्।




