spot_img

विदेशमा समस्यामा परेका नेपालीको उद्धार राज्यको दायित्व हो : भण्डारी

spot_img
spot_img

काठमाडौं,१८ कार्तिक । नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा समस्यामा परेका नेपाली नागरिकको सुरक्षा, उद्धार र सुरक्षित स्वदेश फिर्तीलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् ।

बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीको हकहित र सुरक्षाप्रति राज्य गम्भीर हुनुपर्नेमा जोड दिइन् ।

भण्डारीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई समयमै सहयोग पुर्‍याउनु र आवश्यक परे उद्धार गरी सुरक्षित रूपमा स्वदेश फर्काउने व्यवस्था मिलाउनु राज्यको दायित्व भएको बताइन् ।

उनले नेपाल प्राकृतिक स्रोतसाधन र सांस्कृतिक विविधताले सम्पन्न मुलुक भए पनि त्यसको दिगो तथा वातावरणमैत्री उपयोग हुन नसकेको उल्लेख गरिन् । जलवायु परिवर्तन र प्राकृतिक विपद्का जोखिम बढिरहेका बेला प्राकृतिक स्रोतमा आधारित हरित उद्योगको विकास गर्नुपर्ने उनको भनाइ थियो ।

जलविद्युत्, कृषि तथा खाद्य प्रशोधन, जडीबुटी, वन पैदावार र खनिजमा आधारित उद्योगको प्रवर्द्धनसँगै वातावरणमैत्री पर्यटन विस्तार गर्न सके रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने उनले बताइन् ।

यसका लागि स्वदेशी तथा विदेशी लगानी परिचालन गर्नुपर्ने उल्लेख गर्दै भण्डारीले प्रवासी नेपालीको पूँजी, ज्ञान, सीप र उद्यमशीलतालाई नेपालको विकाससँग जोड्नुपर्ने धारणा राखिन् ।

प्रवासी नेपालीको लगानीलाई स्वदेशी निजी क्षेत्रसँग सहकार्य गराएर उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो । त्यसका लागि सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनले बताइन् ।

यसैगरी, भण्डारीले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्दै आएको नेकपा एमालेले लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको दाबी गरिन् ।
देश र जनताको हितमा पार्टीले गरेका काम तथा उपलब्धिलाई अझ सशक्त रूपमा अघि बढाउनुपर्नेमा पनि उनले जोड दिइन् ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय