वीरगंज,१८ कार्तिक । भोजपुरी भाषा, कला, साहित्य, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले वीरगन्जमा ‘वीरगंज साहित्य महोत्सव’ आयोजना हुने भएको छ।
वीरगंज साहित्य महोत्सव आयोजक समितिको आयोजनामा कात्तिक १८ गते बुधबार वीरगंजस्थित गहवामाई मन्दिर परिसरमा महोत्सव हुन लागेको हो।
महोत्सवमा भोजपुरी भाषामा कविता, गीत, नृत्य, कला तथा वक्तृत्वकलासम्बन्धी विभिन्न प्रतियोगिता सञ्चालन गरिने आयोजक समितिले जनाएको छ।
विद्यालय तहका विद्यार्थी तथा युवाहरूमा लुकेको प्रतिभा उजागर गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो मातृभाषा, मौलिक संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।
भोजपुरी भाषा तराई–मधेस क्षेत्रको महत्वपूर्ण भाषिक तथा सांस्कृतिक पहिचानका रूपमा रहेको उल्लेख गर्दै आयोजकले यसको साहित्यिक, सांगीतिक र कलात्मक पक्षको संरक्षण तथा नयाँ पुस्तामाझ विस्तार गर्न महोत्सवले योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थी, कलाकार, साहित्यकार, भाषाप्रेमी, संस्कृतिकर्मी तथा स्थानीय समुदायको सहभागिता रहने अपेक्षा गरिएको छ।
महोत्सवलाई राष्ट्रिय इन्फोटेक कलेज, वीरगंज महानगरपालिका, पटेर्वा सुगौली गाउँपालिकालगायतका संस्थाले सहयोग गरेका छन्।
आयोजक समितिले भोजपुरी भाषाको आफ्नै लिपि कैथीको पहिचान र प्रयोगलाई स्थापित गर्न तथा भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा रुचि राख्ने सबैलाई महोत्सवमा सहभागी हुन आह्वान गरेको छ।




