spot_img

मधेसी राजनीतिमा पुस्तान्तरणको बहस चर्कियो, नेतृत्व युवाको हातमा आउनुपर्नेमा जोड

spot_img
spot_img

वीरगंज,१८ कार्तिक । मधेसी राजनीतिमा युवा पुस्ताको नेतृत्व स्थापित गर्नुपर्ने बहस सुरु भएको छ। परम्परागत राजनीतिक शैली र पुराना नेतृत्वबाट अपेक्षित परिवर्तन हुन नसकेको भन्दै मधेसको राजनीतिक नेतृत्व अब युवाहरूले लिनुपर्ने आवाज उठ्न थालेको हो।

सहिद सञ्जय चौधरी स्मृति प्रतिष्ठानले मधेसमा युवा नेतृत्वको आवश्यकता र मधेसी राजनीतिको अवस्थाबारे बहस अघि बढाएको छ। काठमाडौंसहित मधेसका विभिन्न जिल्लामा कार्यक्रम सञ्चालन गरिसकेको प्रतिष्ठानले सोमबार पर्साको वीरगन्जमा ‘मधेस : अबको बाटो, मधेसी राजनीतिको समीक्षा’ विषयक बहस कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा प्रतिष्ठानका सञ्चालक एवं सामाजिक अभियन्ता सञ्जय यादवले मधेसकेन्द्रित दलहरूले राजनीतिक शक्ति र सत्ताको अभ्यास गरे पनि जनताको जीवनस्तर तथा सामाजिक अवस्थामा अपेक्षित परिवर्तन ल्याउन नसकेको टिप्पणी गरे।

उनले मधेसका जनताले परिवर्तन चाहेको उल्लेख गर्दै त्यसका लागि युवा पुस्ताको नेतृत्व आवश्यक रहेको बताए। ‘अब पुरानो मधेस रहेन, नयाँ मधेस बनिसकेको छ। त्यसैले अब नयाँ सोच र नयाँ ढङ्गले अघि बढ्ने समय आएको छ,’ उनले भने।

कार्यक्रममा अधिवक्ता आनन्द गुप्ताले जेनजी आन्दोलनपछि मधेसी दल तथा नेताहरूको विश्वसनीयतामाथि प्रश्न उठेको बताए। मधेसका आधारभूत राजनीतिक तथा सामाजिक मुद्दाहरू अझै सम्बोधन हुन नसकेको उल्लेख गर्दै उनले ती मुद्दा पूरा गराउन राज्यलाई दबाब दिने प्रभावकारी रणनीति आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा पूर्वसांसदद्वय प्रह्लाद गिरी र बिक्की यादव, अर्थशास्त्री प्राध्यापक इन्दुशेखर मिश्र, प्रा. डा. हरेराम ठाकुर, ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वप्रमुखद्वय ए.के. झा र डा. उमेश चौरसियालगायतले पनि आफ्नो धारणा राखेका थिए।

वक्ताहरूले पछिल्लो निर्वाचनबाटै मधेसी दल तथा नेताहरूको कार्यसम्पादनबारे जनताले मूल्यांकन गरिसकेको भन्दै अब पुरानै राजनीतिक शैलीबाट अघि बढ्न नसकिने बताएका थिए।

मधेसको राजनीतिक नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनुपर्ने र युवाहरूले राजनीतिक परिवर्तनसँगै शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक न्यायजस्ता मुद्दालाई सम्बोधन गर्ने स्पष्ट योजना बनाएर अघि बढ्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।

कार्यक्रमले मधेसी राजनीतिमा नेतृत्व पुस्तान्तरण, राजनीतिक जवाफदेहिता र नयाँ पुस्ताको भूमिकाबारे थप बहसको आवश्यकता औँल्याएको आयोजकले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय