वीरगंज, १८ कार्तिक । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै सुनको असर्फी (सिक्का) र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ। राष्ट्र बैंकको टक्सार महाशाखाले आगामी कात्तिक १९ र २० गते गरी दुई दिन असर्फी तथा मेडालियन बिक्री खुलाउने गर्दै सूचना जारी गरेको छ।
महाशाखाका अनुसार खरिद गर्न चाहने सेवाग्राहीले प्रतिव्यक्ति २.५ ग्रामको एउटा सुनको असर्फी पाउन सक्नेछन्। त्यस्तै, १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियनमा एक व्यक्तिले बढीमा दुई थान (एक–एक थानका दरले) किन्न पाउने व्यवस्था गरिएको छ।
बबरमहलस्थित टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यी सिक्का तथा मेडालियन बिक्री गरिनेछ। मौज्दात रहेसम्म लाइनमा आउने सेवाग्राहीलाई प्राथमिकताका आधारमा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ।
असर्फी वा मेडालियन खरिद गर्न चाहनेहरूले आफ्नो नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य आधिकारिक परिचयपत्रको प्रतिलिपिसहित अनिवार्य रूपमा स्वयं उपस्थित हुनुपर्नेछ। खरिदकर्ताले नगद वा क्युआरमार्फत भुक्तानी गर्न सक्नेछन् भने सुन–चाँदीको मूल्य दैनिक रूपमा निर्धारण हुनेछ। बिहान करिब ११ बजे मूल्य तय भएपछि मात्र बिक्रीको काम सुरु हुनेछ।




