काभ्रेपलाञ्चोक,१८ कार्तिक । स्थानीय तहहरूले समयमै जग्गाको भूउपयोग वर्गीकरण नगर्दा काभ्रेपलाञ्चोकका आठ स्थानीय तहका नागरिक जग्गासम्बन्धी विभिन्न सेवा लिनबाट वञ्चित भएका छन्। जिल्लाका १३ स्थानीय तहमध्ये पाँचवटाले मात्रै तोकिएको समयसीमाभित्र जग्गा वर्गीकरण सम्पन्न गरेका छन्।
जिल्ला मालपोत कार्यालय धुलिखेलका अनुसार तेमाल, रोशी, पनौती, मण्डनदेउपुर र बेथानचोकले मात्रै जग्गाको वर्गीकरण पूरा गरेका छन्। बाँकी आठ स्थानीय तहले गत असार मसान्तसम्म वर्गीकरण नगरेपछि ती क्षेत्रका नागरिकले चालु आर्थिक वर्षको साउन १ गतेदेखि अंशबण्डाबाहेकका जग्गा कारोबार गर्न पाएका छैनन्।
नापी कार्यालयका प्रमुख अशोककुमार भुसालका अनुसार स्थानीय तहहरूले तीन वर्षदेखि गर्नुपर्ने जग्गा वर्गीकरणमा ढिलाइ गर्दा नागरिकले जग्गासम्बन्धी सेवा लिन समस्या भोगिरहेका छन्। समयसीमाभित्र वर्गीकरण नगर्ने स्थानीय तहका नागरिकले कित्ताकाट, नामसारीलगायतका सेवा पाउन नसकेको उनले बताए।
सरकारले भूउपयोग ऐन, २०७६ तथा भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधन, २०८२ अनुसार स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका जग्गाको वर्गीकरण गर्ने जिम्मेवारी दिएको छ। नियमावलीमा जग्गा वर्गीकरणका लागि पटकपटक समयसीमा थप गरिए पनि पछिल्लोपटक गत असार मसान्तलाई अन्तिम समयसीमा तोकिएको थियो।
भुसालका अनुसार स्थानीय तहले जग्गालाई तोकिएका विभिन्न भूउपयोग क्षेत्रमा वर्गीकरण गरी भूउपयोग परिषद्बाट निर्णय गराउनुपर्ने व्यवस्था छ। वर्गीकरण पूरा भएका स्थानीय तहबाट प्राप्त निर्णयका आधारमा जग्गाधनी श्रेस्ता, पुर्जा तथा नक्सामा विवरण अद्यावधिक गरेपछि मात्रै सम्बन्धित सेवा प्रवाह गर्न सकिने कार्यालयले जनाएको छ।
जग्गाको लिखत रजिस्ट्रेसन पास, बैंक तथा वित्तीय संस्थाको रोक्का, नामसारी र अन्य निवेदनसम्बन्धी सेवा लिनसमेत स्थानीय तहबाट भूउपयोग क्षेत्र खुलेको सिफारिस आवश्यक पर्ने व्यवस्था गरिएको छ। हाल अंशबण्डालगायत सीमित प्रकृतिका कारोबार मात्रै सञ्चालनमा रहेका छन्।
भूउपयोग नियमावलीअनुसार स्थानीय तहले कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी तथा खोला, ताल तथा सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रलगायतका भूउपयोग क्षेत्र निर्धारण गर्नुपर्ने हुन्छ।
यसअघि तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८० जेठ २७ गते जग्गाको वर्गीकरण नगरी घरजग्गा कारोबार गर्न नपाइने व्यवस्था लागू गरेको थियो। त्यसको करिब सात महिनापछि काभ्रेपलाञ्चोकमा जग्गा कारोबार खुला गरिए पनि पछिल्लो समयसीमाभित्र आठ स्थानीय तहले वर्गीकरण पूरा नगर्दा पुनः समस्या देखिएको हो।
जग्गाको कारोबार प्रभावित हुँदा मालपोत कार्यालयमार्फत राज्यले प्राप्त गर्ने राजस्वसमेत घटिरहेको बताइएको छ। जिल्लास्थित नेपाल लेखापढी कानुन व्यवसायी सङ्घले पनि सबै स्थानीय तहलाई समयमै भूवर्गीकरण सम्पन्न गर्न माग गर्दै ज्ञापनपत्र बुझाइसकेको छ।
नियमावलीमा स्थानीय सरकारले जग्गा वर्गीकरण गर्न नसके प्रदेश सरकारले उक्त काम गर्न सक्ने व्यवस्था रहेको छ। सरकारले एक महिनाभित्र स्थानीय तहबाटै भूमि प्रशासन सेवा सञ्चालन गर्ने तयारी गरिरहेका बेला जग्गा वर्गीकरणको काम अधुरै रहँदा सेवा प्रवाह थप प्रभावित हुने देखिएको छ।




