spot_img

जीतपुरसिमरामा भूमि प्रशासन सेवा सुरु, अब जग्गासम्बन्धी काम नगरबाटै हुने

spot_img
spot_img

बारा,१८ कार्तिक । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले बुधबारदेखि भूमि प्रशासन सेवा सञ्चालनमा ल्याएको छ। नगरवासीलाई जग्गासम्बन्धी प्रशासनिक सेवा सहज र स्थानीय स्तरमै उपलब्ध गराउने उद्देश्यले उपमहानगरपालिकाले सिमरास्थित भूमि व्यवस्थापन शाखाबाट सेवा सुरु गरेको हो।

उपमहानगरपालिकाको हुलाक कार्यालयसँगै रहेको भवनबाट भूमि प्रशासन सेवा सञ्चालनमा ल्याइएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ।

पहिलो चरणमा विद्युतीय फोटो, औँठाछाप, दस्तखत तथा जग्गाधनी संकेत नम्बर (एलआईएन) उल्लेख भएको जग्गाधनी प्रमाणपुर्जा भएका जग्गाको प्रशासनसम्बन्धी काम गरिने उपमहानगरपालिकाले जनाएको छ।

त्यस्तै, नापीसम्बन्धी सेवाअन्तर्गत फिल्ड रेखाङ्कन, फिल्ड निरीक्षण, नक्सा प्रिन्ट तथा हाललाई राजीनामामार्फत हुने नक्सा अद्यावधिकको सेवा पनि उपलब्ध हुनेछ।

उपमहानगरपालिकाले भूमि प्रशासन सेवा सुरु भएसँगै भूउपयोग नियमावली, २०७९ अनुसार जग्गाको कित्ताकाटसम्बन्धी मापदण्डसमेत लागू गरेको छ।

नयाँ व्यवस्थाअनुसार कृषि क्षेत्रमा कम्तीमा ६७५ वर्गमिटर अर्थात् दुई कठ्ठा तथा आवासीय र व्यावसायिक क्षेत्रमा कम्तीमा १३० वर्गमिटर अर्थात् ७.७५ धुर जग्गा मात्र कित्ताकाट गर्न पाइनेछ।

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजीप्रसादका अनुसार पहिलो चरणमा तोकिएका सेवाहरू भूमि व्यवस्थापन शाखामार्फत प्रवाह गरिनेछन्।

भूमि प्रशासन सेवा नगरबाटै सञ्चालनमा आएपछि जग्गासम्बन्धी सामान्य प्रशासनिक तथा नापीका कामका लागि अन्य कार्यालय धाउनुपर्ने बाध्यता कम हुने र सेवाग्राहीलाई समय तथा खर्चको बचत हुने उपमहानगरपालिकाले विश्वास लिएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय