spot_img

साउदीमा ड्रोन आक्रमणमा ज्यान गुमाएका भरतको परिवारलाई कम्पनीले १ लाख ८१ हजार रियाल क्षतिपूर्ति दिने

spot_img
spot_img

काठमाडौं,१८ कार्तिक । साउदी अरबमा ड्रोन आक्रमणमा परी ज्यान गुमाएका महोत्तरीका भरत महतोको परिवारलाई उनी कार्यरत कम्पनीले १ लाख ८१ हजार साउदी रियाल क्षतिपूर्ति दिने भएको छ।

कम्पनीले उपदानबापत ३१ हजार र क्षतिपूर्तिबापत १ लाख ५० हजार रियाल उपलब्ध गराउने सहमति जनाएको हो। रियादस्थित नेपाली दूतावासको पहलमा कम्पनीले पीडित परिवारलाई उक्त रकम दिन सहमति जनाएको साउदीका लागि नेपाली श्रम काउन्सेलर कविराज उप्रेतीले जानकारी दिए। ‘कम्पनीले उपदानबापत ३१ हजार र क्षतिपूर्तिबापत एक लाख ५० हजार गरी एक लाख ८१ हजार रियाल दिने सहमति गरेको छ,’ उप्रेतीले भने, ‘आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरेर उक्त रकम परिवारलाई पठाइनेछ।’

भरतको श्रम स्वीकृतिको म्याद समाप्त भइसकेकाले नेपाल सरकारबाट उपलब्ध हुने क्षतिपूर्ति तथा बीमाको रकम पाउन परिवार वञ्चित हुने अवस्था थियो। यसबारे दूतावासले कम्पनीलाई जानकारी गराएपछि मानवीय आधारमा कम्पनीले आफ्नै तर्फबाट क्षतिपूर्ति दिन तयार भएको हो। ‘उनको एक वर्षअघि नै श्रम स्वीकृतिको म्याद समाप्त भइसकेको रहेछ। जसले गर्दा उनका परिवार वैदेशिक रोजगार बोर्ड र बीमाबाट पाउने आर्थिक सहायता पाउनबाट वञ्चित हुने भए।

यसबारे हामीले कम्पनीलाई जानकारी गराएका थियौँ,’ उप्रेतीले भने। वैदेशिक रोजगारीमा जाने क्रममा श्रम स्वीकृति लिएका श्रमिकको विदेशमा मृत्यु भएमा वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट १० लाख रुपैयाँ र वैदेशिक रोजगार म्यादी बीमाबाट १५ लाख रुपैयाँसम्म पाउने व्यवस्था छ। महोत्तरीको पिपरा गाउँपालिका–१, ढेकाहाका ४५ वर्षीय भरत अब्दुल अहाब मन्सुर अल मौलेम सोन्स कम्पनीमार्फत साउदी अरामकोको तेल परियोजनामा सरसफाइको काम गर्दै आएका थिए। उनी १४ वर्षदेखि उक्त कम्पनीमा कार्यरत थिए। गत कात्तिक ४ गते साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी उनको मृत्यु भएको थियो। यमनका हुथी विद्रोहीले तेल परियोजनालाई लक्षित गरी गरेको आक्रमणमा भरतसँगै एक फिलिपिनो श्रमिकको पनि ज्यान गएको थियो।

नेपाली दूतावासले भरतको शव नेपाल पठाउन आवश्यक प्रक्रिया पूरा गरिसकेको छ। तर, उडान अवरुद्ध भएकाले शव नेपाल आउने मिति निश्चित हुन सकेको छैन। भरतको कमाइ नै परिवारको मुख्य आर्थिक आधार थियो। १४ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका उनले केही समयअघि घरनजिकै एक कठ्ठा घडेरी किनेका थिए। त्यही जग्गामा चारकोठे पक्की घर निर्माण गरिरहेका थिए। घर निर्माण सम्पन्न भएपछि परिवारसँगै नयाँ घरमा बस्ने उनको सपना थियो।

तर, घर पूरा नहुँदै उनको जीवन समाप्त भयो। शोकमा डुबेकी पत्नी इन्द्रिकाले परिवारको भविष्य नै अन्धकार भएको बताइन्। ‘हाम्रो त आशाको दियो नै निभ्यो। अब कसरी छोराछोरीको लालनपालन गर्ने रु भगवान् पनि कति निर्दयी भएको होला। छँदाखाँदाको सुख सबै उजाडियो,’ उनले पीडा सुनाइन्।

१४ वर्षसम्म विदेशमा पसिना बगाएर परिवारको भविष्य बनाउन लागेका भरतको असामयिक निधनले परिवारलाई गहिरो शोकसँगै आर्थिक संकटमा समेत पारेको छ। कम्पनीले दिन लागेको क्षतिपूर्तिले भने पीडित परिवारलाई केही आर्थिक राहत पुग्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय