वीरगंज, १८ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कमजोर भएको भन्दै नेतृत्वको आलोचना गर्ने नेता तथा कार्यकर्ताहरूलाई आफ्नै क्षेत्रमा संगठन निर्माण गरेर देखाउन कडा चुनौती दिएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले पूर्वअध्यक्ष कमल थापातर्फ लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। यसअघि कमल थापाले विभिन्न जिल्लाका अभियानहरूमा राप्रपा नेतृत्वकै कमजोरीका कारण कमजोर बन्दै गएको र स्थानीय तहमा उम्मेदवार समेत पाउन मुस्किल पर्ने अवस्था आएको भन्दै आलोचना गरेका थिए।
आफू पार्टी अध्यक्ष भएकाले ७५३ वटै स्थानीय तहमा पार्टीलाई बलियो बनाउने जिम्मेवारी आफ्नो भएको स्पष्ट पार्दै लिङ्देनले भने, ‘मैले मेरो ठाउँमा मात्रै बनाएर राप्रपा बनाएँ भन्न पाउँदिनँ। तर मैले केही गरिनँ भन्ने साथीहरूले आफ्नो ठाउँमा, आफ्नो वडामा संगठन बनाएर देखाउनुस्।’
सो अवसरमा उनले गत निर्वाचनमा आफू पराजित भए पनि आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले र माओवादी केन्द्रको संयुक्त मतभन्दा राप्रपाले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ बढी मत ल्याएको दाबी गरे। आफ्नो वडामा ७ सय, क्षेत्रमा ५ हजार र जिल्लामा करिब १० हजार सक्रिय सदस्य रहेको जिकिर गर्दै उनले आफू चुनाव नलड्ने तर नेतृत्वलाई मात्रै दोष थुपार्ने प्रवृत्तिप्रति असन्तुष्टि पोखे।
‘आफू चुनावमा चाहिँ भाग्ने, उम्मेदवार पनि नबन्ने अनि पार्टी राजेन्द्र लिङ्देनले सक्यो भनेर भन्ने, अब पार्टी कसले बनाइदिने त ?’ उनले प्रश्न गरे। अध्यक्ष लिङ्देनले अब तिहारलगायतका चाडपर्व सकिएलगत्तै पार्टीको महाधिवेशन गरेर उच्च मनोबलका साथ जनतामाझ संगठन निर्माणको अभियानमा जुट्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।




