वीरगंज, १८ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै बाहिर ल्याइएका खबरहरू पूर्णतः असत्य र सरकारद्वारा प्रायोजित रहेको आरोप लगाएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित आकस्मिक पत्रकार सम्मेलनमा बोल्दै शर्माले कांग्रेसको विशेष महाधिवेशन पूर्ण रूपमा विधिसम्मत रूपमा सम्पन्न भएको र त्यसलाई निर्वाचन आयोगले समेत संविधानबमोजिम अद्यावधिक गरिसकेको स्पष्ट पारे।
‘विशेष महाधिवेशन विधिसम्मत तरिकाले भएको थियो। त्यसलाई निर्वाचन आयोगले अद्यावधिक गरिसकेको अवस्थामा अहिले आर्थिक चलखेलको प्रायोजित विषय बाहिर ल्याएर भ्रम छर्न खोजिएको छ,’ शर्माले भने। उनले १५औँ महाधिवेशनमा ७ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको र निर्वाचित नयाँ कार्यसमिति विधि र प्रक्रियाअनुसार नै अघि बढिरहेको बताए।
यस्तै, पत्रकार सम्मेलनमा वरिष्ठ उपसभापति शर्माले पछिल्लो समय सञ्चारगृहहरूमाथि भइरहेको दबाब र त्रासप्रति गम्भीर आपत्ति जनाएका छन्। मिडिया हाउसका गेटमा गाडी तेर्स्याएर अवरोध सिर्जना गरिएको घटनाबारे सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छानबिनको निर्देशन दिएको प्रसङ्ग उल्लेख गर्दै उनले सरकारको शैलीमाथि प्रश्न उठाए।
सरकारले मिडियामाथि अनुचित दबाब बढाएको र विपक्षी दललाई बदनाम गराउन प्रायोजित रूपमा तथ्यहीन आरोपहरू फैलाएको भन्दै शर्माले यस्ता गैरसंवैधानिक गतिविधिहरू तत्काल रोक्न सरकारलाई चेतावनी दिएका छन्।




