वीरगंज, १८ कार्तिक । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिन्ह (फुली) लगाइदिएका छन्।
बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री गुरुङले नवनियुक्त आईजीपी केसीलाई फुली लगाइदिएका हुन्।
यसअघि मन्त्रिपरिषद् बैठकले बहालवाला आईजीपी दानबहादुर कार्कीलाई हटाएर डा. केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो। पदमुक्त भएका कार्कीलाई भने सरकारले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको नयाँ जिम्मेवारी सुम्पिएको छ।
नेपाल प्रहरीमा लामो समयदेखि गृहसचिवले नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह लगाइदिने चलन रहँदै आएको थियो। तर, यसपटक गृहमन्त्री गुरुङ आफैँले केसीलाई फुली लगाइदिएका छन्। प्रहरी इतिहासमा यसअघि तत्कालीन गृहमन्त्री वामदेव गौतमले ध्रुवबहादुर प्रधानलाई आईजीपीको दर्ज्यानी चिन्ह लगाइदिएका थिए। त्यसपछि गृहसचिवले फुली लगाइदिने परम्परा बसकोमा अहिले गृहमन्त्री गुरुङले पुनः मन्त्री स्तरबाटै फुली लगाउने परिपाटी दोहोर्याएका हुन्।
गृहमन्त्री पद सम्हालेलगत्तै प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा मन्त्री गुरुङले अबदेखि आईजीपीलाई प्रधानमन्त्री वा गृहमन्त्रीले नै फुली लगाउने व्यवस्थाका लागि पहल गर्ने घोषणा गरेका थिए।




