वीरगंज,१८ कार्तिक । पर्साको जगरनाथपुर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ। गाउँपालिकाको वडा नम्बर–४ मा निर्माण सम्पन्न भएको १२ कोठे भवनको बुधबार पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश रिजालले उद्घाटन गरेका हुन्।
गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि पूर्वमन्त्री रिजालले १२ कठ्ठा जग्गा दान गरेका थिए। पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का पूर्वसांसदसमेत रहेका रिजालले उपलब्ध गराएको उक्त जग्गा २०८१ फागुन १ गते गाउँपालिकाको नाममा कायम भएपछि भवन निर्माण प्रक्रिया अघि बढाइएको थियो।
कुल ३ करोड ३४ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको हो। जसमा गाउँपालिकाको २ करोड ३५ लाख, जिल्ला समन्वय समितिको ३५ लाख र प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीको संसदीय विकास कोषबाट ६४ लाख रुपैयाँ खर्च गरिएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले यसअघि मदरसाको भवनबाट सञ्चालन हुँदै आएको गाउँपालिकाको प्रशासनिक सेवा अब आफ्नै भवनबाट प्रवाह गरिने बताए। १२ कोठे प्रशासनिक भवन निर्माण भएपछि सेवाग्राहीलाई सेवा लिन सहज हुने उनको भनाइ थियो।
अध्यक्ष यादवले गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण गर्ने प्रतिबद्धता पूरा भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासका लागि विभिन्न काम गरिएको बताए। कार्यक्रममा सहभागी वक्ताहरूले पनि गाउँपालिकाको विकास निर्माणमा अध्यक्ष यादवले गरेको कामको प्रशंसा गरेका थिए।
अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतो, जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरी, जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्रीलगायतको उपस्थिति थियो।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरी, पूर्वप्रदेशसभा सदस्य प्रह्लाद गिरी तथा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षक रुपनारायण साहले गरेका थिए।




