रौतहट,१९ कार्तिक । रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित एक भारतीय नागरिक र गौरका एक व्यापारीलाई पक्राउ गरेको छ।
सीमावर्ती क्षेत्रबाट अवैध रूपमा रकम भित्र्याइँदै गरेको सूचनाका आधारमा प्रहरीले गरेको चेकजाँच तथा खानतलासीका क्रममा उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार मंगलबार दिउँसो ईशनाथ नगरपालिका–४ स्थित महुलियाको काली मन्दिर नजिक प्रहरी चौकी मठियाको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेको थियो।
मोटरसाइकल खानतलासी गर्दा पेट्रोल ट्यांकीमुनि बनाइएको विशेष गोप्य ठाउँ (फल्स बटम) र झोलामा लुकाएर राखिएको ३० लाख रुपैयाँ नगद तथा एउटा स्मार्टफोन फेला परेको थियो। त्यसपछि मोटरसाइकल चालक भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्लाका ३० वर्षीय सनि कुमार जैसवाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा जैसवालले उक्त रकम गौर नगरपालिका–१ मा रहेको ‘न्यु तराई ट्रेडर्स’का सञ्चालक ५१ वर्षीय शेख कमरुललाई बुझाउन ल्याएको बयान दिएका थिए।
त्यसपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक जीवनकुमार मैनालीको नेतृत्वमा खटिएको विशेष टोलीले उक्त व्यापारिक प्रतिष्ठानमा छापा मारेको थियो। खानतलासीका क्रममा पसलबाट थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलबाट बरामद ३० लाख र पसलबाट फेला परेको १४ लाख ६४ हजार ६०५ रुपैयाँ गरी कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँको वैधानिक स्रोत खुल्न नसकेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर गैरकानुनी वित्तीय कारोबार तथा हुन्डी कारोबारको आशंकामा थप अनुसन्धान गरिरहेको जनाएको छ।




