जनकपुर,पुस ३ । सिता राम विवाह पञ्चमीको पूर्व सन्ध्यामा मटकोर सम्पन्न भएको छ। जनकपुरधामको गंगासागरमा रामजानकी मटकोर सम्पन भएको हो।

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव अन्तर्गत पाँचौ दिन मटकोर मनाइन्छ। विवाह अगाडि वैदिक परम्परा अनुसार माटोको पुजा गरी मटकोर हुन्छ।

जानकी मन्दिरबाट झाँकीसहित आएका साधु सन्त र श्रद्धालुले गंगासागरको किनारमा मटकोर गरिएको हो। मटकोरको प्रसादमा भिजाएको चना, चामल र खाने तेल वितरण गरिएको छ।
परम्परा अनुसार हुने विवाहको सबै विधि राम सिता विवाह अर्थात विवाह पञ्चमिमा हुने गरेको छ।
विवाह महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन कार्यक्रम, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञको कार्यक्रम र चौथो दिन तिलकोत्सव कार्याक्रम मनाइएको छ। शुक्रबार पाचौ दिन मटकोर, छठौं दिन शनिबार स्वयम्वर तथा शुभविवाह (विवाहपाञ्चमी) र सातौं दिन आइतबार राम कलेवाको आयोजना गरिनेछ।
गंगासगरमा आयोजित मटकोर श्रद्धालुको बाक्लो उपस्थिती रहेको थियो। कोरोनाका कारण विवाह महोत्सवमा सहभागि न्युन हुने आपेक्षा विपरित जनकपुरमा भिड बढेको छ। शुक्रबार आयोजित मटकोरमा विगत जस्तै भएको सहभागिले विवाह महोतस्वमा उपस्थित राम्रै हुने संकेत गरेको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए।
कोभिड–१९ का कारण नेपाल भारत सीमा बन्द हुँदा भारतको अयोध्याबाट साधुसन्त विवाह महोत्सवमा सहभागी हुन नपाउँदा विगतभन्दा खल्लो भएपनि अयोध्याको भूमिकामा जनकपुरकै रामपट्टी(राम मन्दिर)ले निर्वाह गर्दै छन्।

