काठमाडौं,२९ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता चयन आगामी वैशाख ४ गते गर्ने निर्णय गरेको छ। निर्वाचनसम्बन्धी विस्तृत कार्यतालिका भने वैशाख २ गते सार्वजनिक गरिने भएको छ।
निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ का अनुसार नयाँ राजनीतिक परिस्थितिमा दलको प्रभावकारिता बढाउन नेतृत्व चयन प्रक्रिया अघि बढाइएको हो।
उनले पार्टीभित्र सहमतिको प्रयासलाई प्राथमिकता दिइए पनि लोकतान्त्रिक अभ्यासअनुसार आवश्यक परे मतदानमार्फत नेतृत्व चयन गरिने स्पष्ट पारेका छन्। यदि एक मात्र उम्मेदवारी परेमा सर्वसम्मत रूपमा नेता चयन गरिने व्यवस्था पनि रहनेछ।
संसदीय दलको नेता नै प्रमुख प्रतिपक्षी दलको नेता हुने भएकाले यो निर्वाचनलाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ।
पार्टीभित्र अहिले अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यलगायत नेताहरूले नेतृत्वका लागि आकांक्षा देखाउँदै आन्तरिक छलफल र समीकरण बनाउन सक्रियता बढाएका छन्।
नेतृत्व चयनलाई लिएर कांग्रेसभित्र आन्तरिक राजनीतिक गतिविधि थप चर्किएको देखिएको छ।

