सिम्रौनगढ,३० चैत । सिम्रौनगढ नगरपालिका मा राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को कार्यकर्ता भेला सम्पन्न भएको छ। उद्योग वाणिज्य संघको सभा कक्षमा आयोजित कार्यक्रम स्थानीय नेता गगनदेव प्रसाद कुशवाहा को अध्यक्षतामा सम्पन्न भएको हो।
भेलामा नगर क्षेत्रभित्रका विभिन्न विकास परियोजनाहरू पहिचान गर्दै बारा क्षेत्र नं. १ का सांसद गणेश धिमाल लाई मागपत्र बुझाउने विषयमा छलफल गरिएको जनाइएको छ।
कार्यक्रमले सिम्रौनगढ इशरा पोखरीको सौन्दर्यकरण, गोरु बजारदेखि आदर्श कोतवाल च्युटाहा सडक कालोपत्रे, कोल्ड स्टोर स्थापना, मिनी चिडियाखाना निर्माण, धर्मशाला निर्माण तथा कम्काली मन्दिर परिसरस्थित त्रिलोकीनाथ मन्दिर पुनर्निर्माणलगायत योजनाहरू अघि सारेको छ।
साथै, करिब ५२ बिघा क्षेत्रफल रहेको झरोखर पोखरीको सौन्दर्यकरणसहित २४ बुँदे विकास योजना तयार गरिएको पनि भेलामा जानकारी दिइएको छ। कार्यक्रममा विभिन्न स्थानीय अगुवा तथा कार्यकर्ताहरूले विकास प्राथमिकता र कार्यान्वयन रणनीतिबारे सुझाव दिएका थिए। भेलाको सञ्चालन रामप्रवेश कुशवाहा ले गरेका थिए।

