spot_img

देशभर २६३ प्रहरी चौकी जीर्ण, पुनर्निर्माणका लागि बजेट अभाव : आईजीपी कार्की

spot_img
spot_img

काठमाडौं,२५ जेठ । नेपालभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा पुगेको प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बताएका छन्।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आईजीपी कार्कीले पुराना प्रहरी संरचनाहरू जीर्ण हुँदै गएको र पुनर्निर्माणका लागि आवश्यक बजेट अभाव रहेको गुनासो गरेका हुन्।

उनका अनुसार सीमावर्ती तथा संवेदनशील क्षेत्रका धेरै प्रहरी चौकीहरू भत्किने अवस्थामा पुगेका छन्, जसले प्रहरी कर्मचारीहरू जोखिमपूर्ण वातावरणमा काम गर्न बाध्य बनाएको छ।

“२६३ वटा स्थायी प्रहरी चौकी अत्यन्त जीर्ण अवस्थामा छन्। कतिपय चौकी त भत्किने अवस्थामा पुगेका छन्,” उनले भने।

कार्कीले अस्थायी प्रहरी चौकीहरूको यकिन संख्या समेत स्पष्ट नभएको उल्लेख गर्दै ती संरचनाहरूलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए। उनले स्थानीय तह र संघीय मामिलासँगको समन्वयमा प्रहरी चौकी पुनर्निर्माण गर्न सकिए प्रहरी कर्मचारीलाई न्यूनतम मानवीय सुविधा उपलब्ध गराउन सकिने धारणा राखे।

आईजीपी कार्कीका अनुसार प्रहरीको उपस्थिति भएको ठाउँमा राज्यको उपस्थिति पनि हुने भएकाले संवेदनशील क्षेत्रमा चौकी स्थापना महत्वपूर्ण भए पनि स्थायी संरचनाका लागि बजेट अभाव प्रमुख समस्या बनेको छ।

उनले अस्थायी चौकीलाई दीर्घकालीन रूपमा व्यवस्थित गर्न भवन, पूर्वाधार तथा आवश्यक लजिस्टिक व्यवस्थापनका लागि पर्याप्त बजेट आवश्यक रहेको पनि बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय