भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले विपक्षी नेता ख्वान ग्वाइदोले गराउन खोजेको सैन्य विद्रोह विफल पारिएको दाबी गरेका छन्।
मङ्गलवार भएका भिडन्तमा केही दर्जन सैनिकहरूले विपक्षीलाई साथ दिएका थिए। ती घटनामा सय जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए।
बुधवार टेलिभिजनमा बोल्दै राष्ट्रपति मदुरोले ग्वाइदो सेनालाई आफूविरुद्ध प्रयोग गर्न असफल भएको बताए।
ग्वाइदोले सेनामा मदुरोको नियन्त्रण नरहेको भन्दै शान्तिपूर्ण परिवर्तन अवश्यमभावी भएको दाबी गरेका छन्।
- भेनेजुएलाका राष्ट्रपति मदुरो ‘भाग्न तम्तयार थिए’
- भेनेजुएलाका विपक्षी नेतामाथि सरकारद्वारा सैन्य विद्रोहको आरोप
उनले आफ्ना समर्थनलाई पुन: सडकमा भेला हुन आह्वान गरेका छन्।
तस्वीर कपीराइटAFPअमेरिका, यूके र ल्याटिन अमेरिकाका अधिकांश राष्ट्रसमेत ५० वटा देशले ग्वाइदोलाई भेनेजुएलाको अन्तरिम नेताको मान्यता दिएका छन्।
तर मदुरोलाई रुस, चीन र भेनेजुएलाको सेनाको समर्थन प्राप्त छ।
देशमा गम्भीर आर्थिक र राजनीतिक सङ्कट उत्पन्न हुँदा पनि उनले सत्ता त्याग्न अस्वीकार गरेका छन्।
मदुरोले के भने?
टेलिभिजनबाट प्रसारित सम्बोधनमा मदुरो वरिष्ठ सैन्य अधिकारीहरूसँगै उपस्थित भएका थिए।
उनले प्रदर्शनकारीहरूलाई “गम्भीर अपराध| गरेको आरोप लगाउँदै सजाय दिइने उद्घोष पनि गरे।
मदुरो र ग्वाइदो दुवै जनाले आफ्ना समर्थकहरूलाई सडकमा भेला हुन आह्वान गरेकाले दुई पक्षबीच हिंसात्मक सङ्घर्ष हुने देखिएको छ।
‘ट्याङ्क गुडाइयो’
मङ्गलवार भएको प्रदर्शनबारे बीबीसी संवाददाता केटी वाट्सन भन्छिन्, “राजधानी कराकसबाट प्राप्त दृश्यहरूमा अश्रुग्यास तथा गोली प्रहार भएका देखिन्छ। एक समय त प्रदर्शनकारीहरू भएको ठाउँमा सशस्त्र ट्याङ्क गुडाइयो।”
- भेनेजुएलाका विपक्षी नेतामाथि सरकारद्वारा सैन्य विद्रोहको आरोप
- पक्राउ पर्नसक्ने जोखिमबीच स्वदेश फर्किँदा ग्वाइदोको ‘शैली’ को प्रभाव
विपक्षी नेता ग्वाइदोले जेनुअरीमा संविधानको रक्षार्थ भन्दै आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।
तर मदुरोले उनको घोषणा अस्वीकार गरिदिए।
त्यसयता उक्त ल्याटिन अमेरिकी देश राजनीतिक र आर्थिक सङ्कटको भुमरीमा परेको छ।
पहिला के भएको थियो?
मदुरो र ग्वाइदो दुवैले आफूलाई देशको संवैधानिक राष्ट्रपति दाबी गर्छन्।
तस्वीर कपीराइटAFPग्वाइदोले आफूलाई अन्तरिम राष्ट्रप्रमुख घोषणा गरेसँगै उनको सम्पत्ति रोक्का गरिनुका साथै देश छाड्न समेत प्रतिबन्ध लगाइएको थियो।
तर त्यसलाई उल्लङ्घन गर्दै मानवीय सहायता भित्र्याउने तथा मदुरोविरुद्धको आन्दोलनका लागि समर्थन जुटाउने उद्देश्य लिएर ग्वाइदो फेब्रुअरी महिनामा ल्याटिन अमेरिकी देशको भ्रमणमा गएका थिए।
तस्वीर कपीराइटAFPउनी पक्राउ पर्नसक्ने जोखिममाझ मार्च महिनाको पहिलो साता स्वदेश फर्किए।
ग्वाइदो स्वदेश फर्कनुअघि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ग्वाइदोको सुरक्षा सुनिश्चित हुनुपर्ने भन्दै मदुरो प्रशासनलाई सचेत गराएका थिए।
के हो भेनेजुएलाको सङ्कट?
चरम आर्थिक सङ्कट खेपिरहेको भेनेजुएलामा राजनीतिक सङ्कट पनि थपियो।
केही महिनाअघि अमेरिका र अन्य पश्चिमा राष्ट्रहरूले हुवान गुवाइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिएपछि त्यहाँको राजनीतिक सङ्कट झन् जटिल बनेको हो।
- मदुरोलाई हटाउन अमेरिकी सेना परिचालन भएको क्युबाको आरोप
- भेनेजुएला गृहयुद्धमा धकेलिन सक्ने राष्ट्रपति मदुरोको चिन्ता
ह्युगो चाभेजको मृत्युपछि राष्ट्रपति निर्वाचित मदुरोको यो दोस्रो कार्यकाल हो।
तर उनको नेतृत्वमा भेनेजुएलाको अर्थतन्त्र धराशायीजस्तै हुन पुगेको छ।
चर्को मुद्रास्फीति, ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव त्यहाँका मुख्य समस्या हुन्।
राष्ट्रपति मदुरोले आफ्नो सत्ता हत्याउने प्रपञ्च गरिरहेको भन्दै विपक्षी दलविरुद्ध आपराधिक अनुसन्धान थाल्न सर्वोच्च अदालतलाई आदेश दिएका थिए। तर भेनेजुएलाका सैन्य फौजले मदुरोलाई आफ्नो समर्थन रहने प्रतिबद्धता जनाएका थिए।
तस्वीर कपीराइटGETTY IMAGESभेनेजुएलाभरि लाखौँ मानिसहरूले प्रदर्शन चर्काएपछि राष्ट्रिय सभाका प्रमुख गुआइदोले आफूलाई निमित्त नेता घोषणा गरेका हुन्।
मदुरोले भेनेजुएलामा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिका र उसका मित्रशक्तिको कडा आलोचना गरेका छन्। विदेशीको चलखेल गराएर गुआइदोले आफ्नो सत्ता हत्याउन खोजेको आरोप उनले लगाएका छन्।
- अमेरिकाद्वारा भेनेजुएलाका विपक्षी नेतालाई ‘अन्तरिम राष्ट्रपति’को मान्यता
- विपक्षी नेता गुआइदोलाई अन्तरिम राष्ट्रपति स्वीकार्न दबाव
उनले देशमा गृहयुद्ध हुन सक्ने चेतावनी उनले दिने गरेका छन्।
राष्ट्रसङ्घीय शरणार्थी नियोगका अनुसार केही महिनाअघि भेनेजुएलामा सङ्कट चुलिएपछि लाखौँ मानिसहरूले खाद्यान्न र औषधिको खोजीमा देश छाडेको थिए।
तस्वीर कपीराइटREUTERSत्यहाँको महँगी धेरै गुणा बढेको छ।
त्यसैले पेट्रोलियम पदार्थमा धनी देश भएर पनि त्यहाँ ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव उत्कर्षमा पुगेको छ।
तर मदुरोले आफ्नो देशमा सङ्कट रहेको स्वीकारेका छैनन् र मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले उनको देशमा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै आएका छन्।

