पाेखरीया, २ भदाै । पर्साको पोखरीया नगरपालिकामा रहेको आईसोलेसनमा रहेका संक्रमितहरुको उपचारमा लापरवाही भईरहेको खबर छ ।
विभिन्न मितीमा संक्रमण पुष्टि भएका संक्रमितहरुलाई राखिएको पोखरीयाको आईसोलेसनमा आधारभुत बन्दोबस्ती समेत नमिलाएको विषय प्रकाशमा आएको छ ।
संक्रमितलाई वार्डमा बस्न लागि चाहिने आधारभुत आवश्यक्ताका सामानहरुको व्यवस्था नगरिएको भेटिएको हो ।
पोखरीयाको आईसोलेसनमा रहेका एक संक्रमितले नेपालपोष्टडेलिसँगको कुराकानीमा भने “सर, हिजो आईसोलेसनमा भर्ना भए । खाना एक त पौष्टिक छैन । र, खाने बेलामा सबैलाई खाना पुग्दैन । हिजो राति आधी पेट मात्र खाए ।”
सरकारले आईसोलेसनमा राखिएका संक्रमितहरुलाई विश्व स्वास्थ्य संगठन बमोजिमको खानाको व्यवस्थापन गर्न निर्देशन जारि गरेपनि पोखरीयास्थित आईसोलसनमा कार्यान्वयन हुन सकेको छैन ।
उनका अनुसार संक्रमितलाई सुत्नका लागि पनि आवश्यक प्रबन्ध मिलाइएको छैन । वार्डमा रहेका संक्रमितहरुको संख्याको अनुपातमा पंखा कम छन् । त्यस्तै सुत्नका लागि लामखुट्टेको टोकाईबाट जोगिन झुलको व्यवस्थापन समेत नगरिएको उनले बताए ।
विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर सञ्चालन गर्नुपर्ने आईसोलेसनको अवस्था लथालिंग रहेको आईसोलेसनमै रहेका उक्त संक्रमितले भने ।
“आईसोलेसनमा केही जनप्रतिनिधी पनि छन् । जनप्रतिनिधीहरुका लागि कुनै कमी गरिएको छैन । एक संक्रमित जनप्रतिनिधीलाई दुई वटासम्म टेबुल फैन दिइएको छ । हामीलाई सौतेला व्यवहार गरिएको छ ।” उनले भने ।
आईसोलेसनमा राखिएको केही जनप्रतिनिधी र आफुहरुबिच हुने व्यवहारमा असमानता रहेको उनको भनाई छ ।