काठमाडौं,०४ असार । कप्तान रुविना क्षेत्री र उपकप्तान इन्दु बर्माको अर्धशतकीय साझेदारीमा नेपालले एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत आफ्नो दोस्रो खेलमा कुवेतलाई जितको लागि १०८ रनको लक्ष्य दिएको छ।
मलेसियाको किनरारा एकेडेमी ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनायो।
नेपालका लागि कप्तान रुविनाले सर्वाधिक ३४ रन जोड्दै अविजित रहिन्। उनले २७ बलमा ४ चौका प्रहार गरिन्। यस्तै, इन्दु ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहिन्।
उनीहरुले पाँचौं विकेटका लागि ६० रनको साझेदारी गरेका थिए। नेपालकी ओपनर ज्योति पाण्डेले २१ बलमा १ चौकासहित १५ रन बनाइन्। यता, बिन्दु रावलले ११, सीता रानामगरले ५ र काजल श्रेष्ठले ५ रन बनाइन्।
कुवेतकी मरिम्मा हैदरले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन्। मर्याम ओमर र खदिजा खालिलको नाममा १/१ विकेट रह्यो।