बीरगन्ज, ५ माघ-मधेश आन्दोलनको केन्द्र बीरगन्जमा पनि बिहीबार बलिदानी दिवस मनाइएको छ । बीरगन्जको घण्टाघर चोक नजिकैको मधेसी सहिद पार्कमा बिहीबार आयोजिक एक कार्यक्रमका बीच उपस्थित मधेशी नेता तथा कार्यकर्ताहरुले त्यहाँस्थित शहिदका शालिकमा शालिकमा फूलमाला चढाएर श्रद्धाञ्जली अर्पण गर्दै शहिदहरुको सम्झना गरे ।
शहिदहरुको बलिदानीको चर्चा गर्दै नेता तथा कार्यकर्ताहरुले मधेस आन्दोलन र मधेसी शहिदहरुकै त्याग र बलिदानीका कारण मधेसीले पहिचान, संघीयता, समावेशिता लगायतका अधिकार पाउन सफल भएको जिकिर गरे अझै पनि मधेस आन्दोलनका केही मुद्दा सम्बोधन हुन बाँकी नै रहेको भन्दै जसपाका नेताहरूले त्यसका लागि आफूहरुको संघर्ष जारी नै रहेको जिकिर गरे ।
जसपा पर्साका अध्यक्ष रामनरेशप्रसाद यादवको अध्यक्षता तथा प्रदेशसभा सदस्य प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य फिरोज मन्सुर, केन्द्रीय परिषद सदस्य शिवजी सोनी,जसपा मधेस प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, जिल्ला सचिव तबरेज अहमद, युवा नेता सरोज यादव, अमित यादव, सफ्रोज आलम, विद्यार्थी नेताहरु एजाजबाबु राँकी, हरेन्द्र साह, सागिर आलम, नैमोदिन आलम, फरिद आलम, आबिद समानी लगायतको सहभागिता थियो ।
मधेश आन्दोलनका क्रममा शहादत्त प्राप्त गरेका शहिदहरुको सम्झनामा हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइदैं आएको छ । बलिदानी दिवसमा हरेक वर्ष मधेस प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिने गरेको छ ।
मधेस आन्दोलनका प्रथम सहिद रमेश महत्तो हुन् । पहिलो मधेस आन्दोलनका क्रममा सिरहाको लहानमा २०६३ माघ ५ गते महत्तोले शहादत प्राप्त गरेका थिए । मधेसीको हक अधिकार प्राप्तिका लागि २०६३ देखि २०७२ सम्म पटक पटक भएका मधेस आन्दोलनमा हालसम्म १०७ जनाले शहादत प्राप्त गरेका छन् ।