जनकपुर,०७ चैत । मधेशी आयोगले आफ्नो चौथो स्थापना दिवस मनाएको छ । संवैधानिक निकायका पदाधिकारी, आयोगका निवर्तमान कर्मचारीहरु, विभिन्न सामाजिक संस्थाहरुका प्रतिनिधि तथा नागरिक समाजका अगुवाको उपस्थितिमा आयोगले आज एक विशेष समारोह आयोजना गरी आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ ।
२०७५ साल चैत्र ७ गते तत्कालिन राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको समुपस्थितिमा निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा बाट आयोगको प्रथम अध्यक्षको रुपमा डा.विजयकुमार दत्तले सपथ लिएर पदबहाली गरे पछि आयोगले हरेक वर्ष चैत्र ७ गतेको दिन आफ्नो वार्षिकोत्सव मनाउदै आएको छ ।
स्थापना दिवसको अवसरमा आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले मधेशी समुदायको समस्यालाई समाधान गर्न स्थापना भएको यो संवैधानिक निकायलाई भौतिक तथा आर्थिक रुपमा कमजोर बनाएको बताएका छन् । सो प्रेस विज्ञप्तिमा आयोगले प्राप्त गरेको न्यून स्रोत साधन लाई नै उपयोग गरी मधेशी समुदायको थर सुचिकरण, मधेश प्रोफाइल निर्माण , मधेशी समुदायको राज्यमा पहुँच सम्बन्धी अध्ययन, लोकसेवा तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम, जनचेतनामूलक कार्यक्रमहरु जस्ता महत्वपूर्ण कार्यहरु गरेको उल्लेख गरिएको छ । आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगमा प्राप्त संवेदनशील घटनाहरुको उजुरी प्रति आफू गम्भीर रहेको बताउदै आफै स्थलगत अनुगमनमा गएर समस्या समाधानको लागि सम्बन्धित स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्देशन दिन गरेको समेत बताएका छन् ।
अध्यक्ष डा.दत्तले सरकारको मधेशी र मधेशी आयोग प्रति रहेको अष्टबक्र दृष्टि नहटेसम्म मधेशी समुदायको सशक्तीकरण नहुने बताउदै अहिले सम्म आयोगलाई विभिन्न तरिका बाट सहयोग गर्नुहुने तत्कालिन राष्ट्रपति, उपराष्ट्रपति, नेपाल सरकार, प्रदेश सरकार, संवैधानिक निकाय, नागरिक समाज तथा संचारकर्मीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।