बीरगन्ज,१४ चैत – फुड्को नेपाल प्रा.लि. एवं स्नेक एण्ड प्याक उद्योगमा प्रहरीले छापामारी प्रहरीले ठृुलो परिमाणमा म्याद सकिएको खाद्यान्न सामाग्री बरामद गरेको छ । विशेष सूचनाको आधारमा पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीको नेतृत्वमा गएको टोलीले वीरगंज महानगरपालिका वडा नं. २ पावरहाउस चोक स्थित एकै स्थानमा रहेको दुईवटा फर्मको खाद्यान्न सामाग्रीको गोदाममा छापामारी गरि अन्दाजी २७ हजार किलो भन्दा बढि म्याद सकिएको खाद्यान्न सामाग्री बरामद गरेको हो ।
बीरगन्ज महानगरपालिका वडा नं. १३ श्रीपुर स्थित श्रवण कुमार रुङ्गटाको घरमा संचालन रहेको दुईवटा फर्मले म्याद सकिएको सामान विभिन्न ठाउँबाट ल्याउने र रि–प्याकिङ्ग गरि नयाँ मितिकिो लेबल टाँसेर बजारमा विक्री वितरण गर्ने उद्योगमा प्रहरीले छापामारी गरेको हो । बीरगन्ज महानगरपालिका वडा नं. २ स्थित ठेगाना देखाई ड्राइफुड र मसला पदार्थ प्याकिङ्ग गर्न घरेलु तथा साना उद्योग कार्यालयबाट अनुमति म्याद सकिएको खाद्यान्न सामाग्री रि–प्याकिङ्ग गरि नयाँ मितिको लेबल टाँसी विक्री वितरण गर्ने गरेको पाइएको पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
उनका अनुसार फुडको नेपाल क्रोप प्रा.लि.ले बाहिरबाट विभिन्न ब्राण्डका म्याद सकिएका खाद्यान्न सामाग्रीहरु ख्रिद गरेर ल्याउने र त्यही कम्पाउण्ड भित्र रहेको स्नेक एण्ड प्याक उद्योगले म्याद सकिएको खाद्यान्न सामाग्रीलाई रि–प्याकिङ्ग गरि नयाँ लेबल टाँसी बजारमा विक्री वितरण गर्ने गरेको पाइएको बताए । दुईवटै उद्योगको संचालक वीरगंज महानगरपालिका वडा नं. ७ निवासी संजय अग्रवाल, सोही ठाउँ निवासी विद्या कुमारी सरावगी एवं भरतपुर – ३ चितवन निवासी संतोष कुमार अग्रवाल रहेका छन् ।
फुडको नेपाल क्रोप प्रा.लि. एवं स्नेक एण्ड प्याक इन्डस्ट्रिजको गोदामबाट प्रहरीले २७ हजार किलो भन्दा बढि म्याद सकिएको खाद्यान्न सामाग्री फेला परेको हो । ति दुबै फर्मको गोदाम किचेनमा प्रयोग गरिने सम्पूर्ण मसला, सस, मह, च्वकलेट, सेम्पु, सेवई, स्नेक, विस्कुट, जिरा, गरम मसाला, विभिन्न मिठाई फ्लेबरका पाउडर लगायतका खाद्यान्न सामाग्रीहरु बरामद भएको छ ।
म्याद सकिएको खाद्यान्न सामाग्री बजारबाट संकलन गरि लेबल प्रिन्ट गरि पुनः रि–प्याकिङ्ग गर्ने गरेको सूचनाको आधारमा प्रहरीले छापामारी गरेको हो । छापामारीको क्रममा उपभोक्ताले प्रयोग गर्ने किचेनका सम्पूर्ण सामानहरु एवं बच्चाहरुले खाने विभिन्न ब्राण्डका च्वकलेट म्याद सकिएर पुनः रि–प्याकिङ्ग गर्ने गरिएको अवस्थामा बरामद गरिएको प्रहरी नायब उपरीक्षक गिरीको भनाई छ ।
वाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय सहितको टोलीले उद्योगमा छापामारी गरेको हो । छापामारीको क्रममा संचालकहरु तीनैजना सम्पर्क विहीन रहेका छन् भने उद्योगमा कार्यरत तीन जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उद्योगमा कार्यरत वीरगंज महानगरपालिका वडा नं. १३ निवासी ३२ वर्षीय मनिष कुमार चौधरी, वडा नं. ७ निवासी २३ वर्षीय आयुष अग्र्रवाल, वडा नं. १४ निवासी ३८ वर्षीय हरिनारायण प्रसाद कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले नयाँ लेबल प्रिन्ट गर्ने मेशिन समेत नियन्त्रणमा लिएको हो । पक्रउ गरिएकाहरु उपर थप अनुसन्धान भइरहेको तथा कम्पनीका मुख्य संचलाकहरु फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।