न्त्रालय बाँडफाँटमा विवादबीच बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनमा सहमती भएको छ । भागबन्डा मिलाउन बुधबार बिहान र बेलुका २–२ घण्टा बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो ।
बुधबार सहमति सार्वजनिक नगरिए पनि मन्त्रालयमा भागबन्डा मिलाएको दाबी नेताहरूले गरेका छन् । ६ चैतमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएका कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेपाल समाजवादी पार्टी र स्वतन्त्रबाट जितेका प्रभु साहको पार्टी सरकारमा सहभागी हुने भएको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई तत्काल सरकारमा सहभागी गराउने हिसाबमा राखिएको छैन । बुधबार बेलुकाको बैठकमा सहभागी भएका जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्तारुढ दलबीच मन्त्रालयको भागबन्डामा आन्तरिक रुपमा कुरा मिलिसके पनि सार्वजनिक नगरिएको जानकारी दिए ।
नेताहरुका अनुसार गठबन्धनमा थप छलफल गरेर बिहीबार नै मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । यद्यपि आज पहिलो चरणको मन्त्रिपरिषद् विस्तार गर्ने या पूर्णता नै पाउने भन्नेमा यकिन भइसकेको छैन । बुधबार सत्ता गठबन्धनको बैठकपछि कांग्रेस नेता रमेश लेखकले बिहीबार मन्त्रिपरिषद् विस्तार भएपनि पूर्णता भने नपाउने बताएका थिए । उनले सबैलाई समेटेर पहिलो चरणमा विस्तार गर्ने र त्यसपछि अर्को चरणमा गएर पूर्णता दिइने बताएका थिए ।
यसैबीच नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने बारेमा प्रधानमन्त्री जवाफको प्रतीक्षा गर्ने भएको छ । बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले आफ्नो दाबी ३ वटा मन्त्रालयमा रहेको, मन्त्रालय प्राप्त नभइसकेको र मन्त्रालय टुंगो पनि नलागेका कारण प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा रहेको बताएको हो ।