मंसिर ४ गते भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा क्षेत्र विभिन्न कारणले रिक्त भएपछि आगामी वैशाख १० गते हुने ३ निर्वाचन क्षेत्रको उपनिर्वाचन महाभिडन्त हुने भएको छ ।
नियमित चुनावको ५ महिनामा अर्थात् वैशाख १० गते देशका विभिन्न ३ वटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचन पेचिलो बन्ने देखिएको हो ।
नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली भएको तनहुँ १, जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त रहेको बारा २ र नागरिकता प्रकरणमा रवि लामिछानेको सांसद पद खारेज भएको चितवन २ मा हुने उपनिर्वाचनमा महाभिडन्त हुने भएको छ ।
कांग्रेस र सत्ता गठबन्धनलाई आफ्नो प्रभुत्व स्थापित रहेको देखाउनुपर्ने अवस्थामा छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो जनलहर नघटेको र सभापति रवि लामिछाने अझै लोकप्रिय रहेको देखाउने दाउमा छ । तराई मधेश केन्द्रित जसपाका नेता उपेन्द्र यादव जसरी पनि सत्तामा पुग्नुपर्ने र जसरी पनि उनलाई रोक्ने गरी जनमत र लोसपालो बारा २ मा उम्मेदवार उठाउने भएपछि उपनिर्वाचनको दृश्य थप रोचक बन्न लागेको छ ।
यी ३ वटै निर्वाचनमा दलले उठाउने उम्मेदवार सार्वजनिक जीवनमा चर्चा बटुलेका र हेभिवेट भएको भएकाले पनि उपनिर्वाचन साँच्चै महाभिडन्तउन्मुख देखिएको छ । बलियो प्रतिपक्षी एमालेले उम्मेदवार घोषणा गर्नु पूर्व नै ३ वटै क्षेत्रमा प्रतिस्पर्धा रोचक हुने देखिएको थियो । एमालेले तनहुँ १ बाट पूर्व आईजीपी सवेन्द्र खनाल र चितवन २ बाट रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । एमालेले पनि चर्चित पात्रविरुद्ध चर्चित नै अनुहार उठाउने पक्का गरेसँगै वैशाख १० गते हुने उपनिर्वाचन थप रोचक र प्रतिस्पर्धायुक्त बन्ने देखिन्छ ।
चैत २० गते उम्मेदवारी मनोनयन गर्नु पूर्व नै यी क्षेत्रको भाबी प्रतिस्पर्धालाई लिएर अनेक अड्कलबाजी हुन थालेका छन् ।
चितवन २ युवा नेताबीच भिडन्त
चितवन २ मा यसअघि नै जितेका रवि लामिछानेविरुद्ध कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ प्रतिस्पर्धामा उभिएका छन् । एमालेले युवा नेता न्यौपानेलाई अघि सारेको छ । यसै त्रिपक्षीय भिडन्तको प्रतिस्पर्धाले उपनिर्वाचनको माहोल थप तताउने भएको हो ।
मंसिर ४ गते देशका १६५ निर्वाचनमा क्षेत्रमध्ये चितवन २ मा रवि लामिछानेले सबैभन्दा फराकिलो जीत हात पारेका थिए । टेलिभिजन प्रस्तोता हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोलेर चुनावी मैदानमा होमिएका उनले ३४ हजार ३१२ मतान्तरको फराकिलो जीत हात पारे । लामिछानेले ४९ हजार ३०० मत ल्याउँदा परम्परागत प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।
नागरिकता प्रकरणमा सांसद पद नै खारेज भएपछि पुनः नागरिकता प्राप्त गरेपछि लामिछाने फेरि यहीँ क्षेत्रबाट उम्मेदवार बनेका छन् । कांग्रेसले उद्यमी उमेश श्रेष्ठलाई नउठाई भूगोलमै राजनीतिक गरेका युवा नेता जीतनारायणलाई उम्मेदवार बनाएर प्रतिस्पर्धालाई पेचिलो बनाउने तयारी गरेको छ ।
एमालेका पुराना प्रतिस्पर्धी र भूगोलमा चर्चित कृष्णभक्त पोखरेलले यसपटक उम्मेदवार बन्ने इच्छा देखाएनन् । रवि, जीतनारायण जस्तै एमालेले पनि विकल्पमा युवा नेता न्यौपानेलाई अघि सारेपछि प्रतिस्पर्धा रोचक हुने देखिएको हो । सत्ता गठबन्धनलाई जसरी पनि परास्त गर्ने संकल्प लिएका एमाले अध्यक्ष केपी ओलीले यो क्षेत्रमा उम्मेदवारमा ‘सरप्राइज’ दिनसक्ने आकलन थियो । ओलीले युवा नेताविरुद्ध युवा नेतालाई भरोसा गरेर टिकट टुंग्याएका हुन् ।
प्रतिशोध र हेभिवेटले चर्चामा बारा २
जसपा अध्यक्ष उपेन्द्र यादवले मंसिर ४ गते सप्तरीमा जनमत पार्टीका सीके राउतसँग पराजय व्यहोरेपछि उनी जसरी पनि फेरि सांसद बन्ने धुनमा छन् । त्यसैले बारा २ बाट जितेका रामसहायलाई उपराष्ट्रपति बनाएर आफू उपनिर्वाचन लड्ने तयारीमा छन् उनी ।
यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग नमज्जाले पराजित हुन पुगेका थिए । राउतले ३५ हजार ४२ मत ल्याउँदा यादवले भने मात्र १६ हजार ९७९ मत ल्याएका थिए । उनी १८ हजार ६३ मतान्तरले पराजित भएका थिए ।
आफूलाई हराएका यादव बारामा पुगेर निर्वाचन लड्ने तयारी गरेपछि जनमतले पनि माओवादीका शिवचन्द्र कुशवाहलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाउने तयारी गरेको छ । लोसपाका नेता राजेन्द्र महतो पनि उपेन्द्रसँग भिड्न बारा २ बाट उम्मेदवार बन्दैछन् । यी हेभिवेटको भीडमा रास्वपाले पूर्व डीआईजी रमेश खरेललाई उम्मेदवार बनाउने तयारी गरेपछि यो क्षेत्रमा झन् महाभिडन्त नै हुने देखिएको छ । एमालेले कसलाई बनाउने भन्ने निर्णय गरिसकेको छैन ।
यादवको उम्मेदवारीपछि कांग्रेस, माओवादी, नेकपा एसले उनैलाई समर्थन गरेर उम्मेदवारी नदिने तयारी गरेका छन् । लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले कार्यगत एकता गरे पनि जनमत र लोसपा दुवैले उम्मेदवार उठाउने भएका छन् ।
यस्तो थियो बारा २ को अंकगणित
बारा २ मा जसपाका रामसहायले साँघुरो मतान्तरले जितेका थिए । राय १३ हजार ८२२ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी बनेका माओवादीका शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार ४६८ मत पाएका थिए ।
रामसहाय ३५४ मतान्तरले जितेका थिए । नेकपा एमालेले जसपा तथा कांग्रेस र नेकपा एसले माओवादीका उम्मेदवारलाई समर्थन गरेका थिए तर यसपटक उम्मेदवार, समीकरण फेरिएपछि प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।
बारा २ मा स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३ र रविन्द्रप्रसाद यादवले १० हजार ७५० मत प्राप्त गरेका थिए । अरुणकुमार ज्ञवालीले ७ हजार ६९८ मत प्राप्त गरेका थिए । स्वतन्त्रबाट उठेका नेताले नै धेरै मत ल्याएकाले यहाँको अंकगणित फेरि पनि रोचक हुने देखिएको छ ।
जसरी पनि सांसद बन्ने अभिलाषमा रहेका उपेन्द्र यादले जनमतका कुशवाहा, लोसपाका राजेन्द्र महतो, रास्वपाका रमेश खरेल र एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । मंसिर ४ गते जनमतका उम्मेदवार राजेश साहले २ हजार ७२५ मत पाएका थिए
रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँ १ बाट को बन्लान् सांसद ?
तनहुँ १ मा कांग्रेसले युवा नेता गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ तर उनी उम्मेदवार बनेकै दिन कांग्रेस परित्याग गरेका स्वर्णिम वाग्लेलाई रास्वपाले तनहुँ १ बाट उम्मेदवार बनाउने घोषणा गरेको छ । एमालेबाट पूर्व आईजीपी सवेन्द्र खनाल पनि जिल्लाबाट सिफारिसमा परेपछि शनिबार एमालेको आधिकारिक उम्मेदवार तय भएका छन् । यसैले रामचन्द्र पौडेल निर्वाचित भएको यो क्षेत्रमा पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ कांग्रेसका युवा नेता भट्टराई, आर्थिक विज्ञ वाग्ले र पूर्व आईजिपी खनालविरुद्ध रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
मंसिर ४ गते भएको निर्वाचनमा तनहुँ १ बाट कांग्रेस नेता पौडेल २५ हजार ३६१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका एकबहादुर रानामगरले १९ हजार ९८१ मत प्राप्त गरेका थिए । पौडेलको मतान्तर ५ हजार ३८० थियो ।
तनहुँ १ मा स्वतन्त्रबाट कांग्रेसकै पूर्व नेता गोविन्दराज जोशीले ६ हजार ८८६ र राष्ट्रिय स्वतन्त्रका पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए ।