काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन– २ मा आफ्नो उम्मेदवारी दर्ता गराएकै दिन उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।
नेपाली राहदानी दुरुपयोग गरेको कसुरमा लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडैल ‘सफल’ले मुद्दा दर्ता गराएका हुन् । सफलले उक्त रिट हिजो आइतबार नै सर्वोच्च अदालतमा पेश गरेका थिए । उक्त रिट आज सोमबार मात्रै अदालतले दर्ता गरिदिएको जनाइएको छ ।
यसअघि पनि उनै सफलले लामिछानेविरुद्ध नागरिकता अवैध रहेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । जसमाथि सर्वोच्चको संवैधानिक इजलासले फैसला दिँदै लामिछानेको सांसद पद, गृहमन्त्री पद तथा पार्टी सभापति पद सबै खारेज गरिदिएको थियो । साेही कारण यसअघि लामिछाने निर्वाचित चितवन क्षेत्र नं २ मा रिक्त रहेकाे सांसद पदका लागि वैशाख १० गते उपनिर्वाचन हुँदैछ, जसमा लामिछानेले पुनः उम्मेदवारी दर्ता गराइसकेका छन् ।
लामिछानेले सर्वोच्चको फैसलापछि नागरिकताबारे भएको त्रुटि सच्याउँदै नयाँ नागरिकता लिएका थिए । राहदानी दुरुपयोगको कसुरमा आज सर्वोच्चले रिट दर्ता गरेर भोलि मंगलबारका लागि पहिलो पेशी तोकेको छ ।
लामिछानेविरुद्ध मुद्दा नचलाउने भन्दै नेपाल प्रहरी र सरकारी वकिल कार्यालयले निर्णय नै गरेर उनीमाथि भइरहेको अनुसन्धान प्रहरीले रोकेको थियो । तर सफलले भने मुद्दा नचलाउने निर्णय गरेको भन्दै महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट दायर गरेका हुन् ।