काठमाडौँ,१३ जेठ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भ्रष्टाचारविरुद्ध काम गर्दा सरकारलाई चौतर्फी घेराबन्दी भएको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपालको १९ औँ केन्द्रीय साधारण सभा तथा २१ औँ कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा शंखरापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले विगतमा हालीमुहाली गरेकाहरूले घेराबन्दी गर्नु स्वाभाविक भएको भन्दै सरकारले गरेका राम्रा कामको व्यवस्थित ढंगले प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारको प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले संसद्मा सानो सङ्ख्यामा भए पनि माओवादी केन्द्र नेतृत्वको सरकारले गुणात्मक ढंगले महत्वपूर्ण काम गरिरहेको पनि बताउनुभयो । गलत कामको खबरदारी र राम्रा कामलाई पार्टी, प्रचार मोर्चाबाट व्यवस्थित ढङ्गबाट प्रचार गर्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो– “विगतमा जनताको मुक्ति आन्दोलनलाई मिसन बनायौँ, आजको युगमा फरक तरिकाले अघि बढ्न खोजेका छौँ। चुनौतीहरू अझ डरलाग्दा छन् । त्यसैले एकताबद्ध भएर लड्नुपर्ने छ । त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने भएको छ ।”
उहाँले गणतन्त्र दिवस जनयुद्ध र जनआन्दोलनमा योगदान पुर्याएकाहरूलाई पनि सम्मान गर्दै मनाउन सर्कुलर गरेको जानकारी गराउनुभयो ।
उहाँले समानुपातिक विज्ञापन वितरणलाई व्यवस्थित गर्नुपर्ने र जनयुद्ध कालमा माओवादीले सञ्चालन गरेका रेडियो अहिले बन्द भएको भन्दै तिनलाई ब्युँताउनुपर्ने बताउनुभयो ।