काठमाडाै,०९ भदाै । मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजको उपाधीका लागि नेपाल र हङकङबीच भइरहेको खेल वर्षाका कारण अवरुद्ध भएको छ ।
हङकङले दिएको १०२ रनको लक्ष्य पन्छाइरहेको नेपालले ५ दशमलब ३ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको अवस्थामा खेल रोकिएको हो । नेपालकी ओपनर काँजल श्रेष्ठ शून्य रनमा आउट भएपछि सिता रानामगर र इन्दु बर्माले पारी सम्हालिरहेका छन् ।
सिता १३ र इन्दु १९ रनमा अविजित छन् । त्यसअघि बायोमास ओभलमा टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १०१ रन बनाएको थियो ।
उसका का यिङ चानले २९,मरीना बुओनोकोर एन्टोनिया लैम्प्लो १९ रनको योगदान गरे । नेपालका लागि खुसी डंगोलले ३, कविता जोशीले १,अस्मिना कर्माचार्यले १ विकेट हात पारे ।
नेपालले आज एक परिवर्तन गरेको छ । बिन्दु रावललाई बेञ्चमा राखेर अप्सरी बेगमलाई खेलाएको छ । नेपाल पहिलो तथा हङकङ लिगमा दोस्रो हुँदै फाइनल पुगेका हुन् ।
नेपाल हङकङ र मलेसियाको समान चार अंक भएपनि रनरेटका आधारमा नेपाल पहिलो, हङकङ दोस्रो र मलेसिया तेस्रो स्थानमा रहेका थिए ।
नेपालले हङकङ, कुवेतलाई पराजित गर्दा मलेसियासँग पराजित भएको थियो भने हङकङले मलेसिया र कुवेतलाई पराजित गर्दा नेपालसँग पराजित भएको थियो ।
लिग चरणमा भएको भेटमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो । आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत महिला टी–ट्वान्टी सिरिजमा सहभागी भएका थिए ।
यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलेको हो ।