जनकपुर,१२ भदाै । नेकपा एमाले मधेस प्रदेश समितिको असोज ५ र ६ गते हुने अधिवेशनको तयारी तीब्र पारिएको छ । एमालेले मधेस प्रदेश अन्तर्गत रहेका विभिन्न कमिटीहरुको अधिवेशन धमाधम सम्पन्न गरिरहेको छ । साथै, मधेस प्रदेश कमिटीको अधिवेशनका प्रतिनिधि चयनको कामलाई पनि अगाडि बढाएको छ ।
एमाले मधेस प्रदेशका अध्यक्ष रामअवतार यादवका अनुसार प्रदेशको अधिवेशनका लागि भदौ २६ गते प्रतिनिधि छनौट गर्न लागिएको छ । प्रतिनिधि छनौट पालिका तहबाट हुने जनाइएको छ तर दलित र मुस्लिम समुदायका लागि जिल्लालाई एकाई मानिएको अध्यक्ष यादवले बताए ।
दलित र मुस्लिमका लागि ५–५ जना प्रतिनिधि छान्नु पर्ने मधेस प्रदेश कमिटीले जारी गरेको निर्देशनमा उल्लेख छ । पाँच जनामध्ये एक जना महिला, एक जना युवा अनिवार्य हुनुपर्ने भनिएको छ । युवाको उमेर ४० वर्ष भन्दा मुनिको हुनुपर्ने निर्देशनमा उल्लेख छ ।
अध्यक्ष यादवले भने, ‘पालिकास्तरबाट छनौट हुने प्रतिनिधिमा खुल्ला, महिला, (४० वर्ष मुनिका) युवा र अन्य क्षेत्रको समावेशीतालाई हामीले विशेष ध्यान दिएका छौँ । युवाका लागि नागरिकताको प्रतिलिपी अनिवार्य गरेका छौँ ।’
त्यस्तै, विभिन्न पार्टीबाट एमाले पार्टीमा प्रवेश गरेकालाई प्राथमिकतामा राख्ने पनि उनले बताए । सबै जिल्लाले जिल्ला कमिटी वा सचिवालयको बैठकबाट भाद्र १५ गतेभित्र प्रतिनिधि छनौटको लागि प्रत्येक पालिका र दलित, मुस्लिम समुदाय क्षेत्रका लागि बुद्धिजीवी र पेशाकर्मीबाट प्रमुख अधिकृत र २ जना अधिकृत रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्देशनमा उल्लेख छ ।
प्रतिनिधि मनोनयनका लागि पाँच सय रुपैयाँ दस्तुर तोकिएको छ । प्रतिनिधि चयन गर्दा कुनै विवाद आएमा जिल्ला इन्चार्जको नेतृत्वमा पालिका, इन्चार्ज र जिल्ला कमिटी अध्यक्षको अनुगमन समितिले समाधान गर्ने निदेशन पत्रमा उल्लेख छ ।
अनुगमन तथा निर्देशनका लागि एमालेका नेता लिलानाथ श्रेष्ठको संयोजकत्वमा जुली कुमारी महतो, अच्यूत मैनाली र रामअवतार यादव रहेको विशेष समिति गठन गरिएको छ । प्रतिनिधि निर्वाचनको परिणाम घोषणा पश्चात प्रदेश कमिटीले तयार गरेको प्रतिनिधि विवरण फारम भर्नुपर्ने हुन्छ, जसमा प्रमुख निर्वाचन अधिकृत र पालिका कमिटी अध्यक्षको हस्ताक्षरसहित जिल्ला अध्यक्षले प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।