बीरगन्ज,१८ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले बिल बिजक भन्दा बढी लोड रहेको खुद्रा सामग्रीसहित ट्रक नियन्त्रणमा लिएको छ ।
पर्सा प्रहरीका अनुसार बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेर बीरगन्जबाट काठमाण्डौतर्फ गइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गएराति ट्रक नियन्त्रणमा लिएको थियो ।
पर्सा प्रहरीले बीरगन्ज महानगरपालिका–१४ गण्डक चोकबाट प्रदेश–३ ०१–००५ ख ९८५१ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।
ट्रक चेकजाँच गर्दा विल बिजक भन्दा बढी शंकास्पद समान देखिएपछि समानसहित ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमार बिक्रम थापाले बताए ।
ट्रकमा ६४ लाख ६५ हजार ९ सय २१ रुपैयाँ बराबरको खुद्रा सामाग्रीहरू फेला परेको पर्सा प्रहरीले बताएको छ ।
बरामद गरिएको समानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।