काठमाडौँ,१५ मंसिर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पितृशोक परेको छ । उनको बुबा रामनारायण शाहको निधन भएको छ । सिभिल अस्पतालमा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले पुष्टि गरे ।
मेयर बालेनको सचिवालयका अनुसार उनको मुटुमा समस्या देखिएपछि उनी हिजो बिहान बेहोस भएका थिए । लगत्तै उनलाई सिभिल अस्पताल लगिएको थियो । शाहको शरीरमा रगत समेत जाम भएको थियो । उनलाई त्यसपछि भेन्टिलेटरमा राखिएको थियो ।
क्षमाप्रार्थी सहित समाचार सच्याइएको सूचना
वीरगंज, २५ मंसिर
नेपाल पोष्ट मिडिया प्रालिद्वारा सञ्चालित अनलाइन न्युज पोर्टल नेपालपोस्टडेली डटकम मा मिति २०८२ साल मंसिर १५ गते प्रकाशित “काठमाडौंका मेयर बालेन्द्र शाहका बुवाको मृत्यु” शीर्षकको समाचारमा मानवीय त्रुटिका कारण अर्कै व्यक्तिको फोटो प्रकाशित भएको जानकारी प्राप्त हुनासाथ सो त्रुटि सच्याइएको छ।
प्रेस काउन्सिल नेपालबाट प्राप्त निर्देशनात्मक पत्रका आधारमा सो समाचारमा आवश्यक सुधार गर्दै क्षमाप्रार्थी सूचना पनि प्रकाशित गरिएको व्यहोरा अवगत गराइन्छ।
उक्त समाचार तथा प्रयोग गरिएको फोटोका कारण सम्बन्धित पक्षमा पर्न गएको असुविधाप्रति नेपाल पोष्ट मिडिया प्रालिद्वारा सञ्चालित नेपालपोस्टडेली डटकम का सम्पादक मण्डल हार्दिक क्षमाप्रार्थी छन्।
साथै, सो समाचार नियतवश नभई त्रुटिवश प्रकाशित भएको समेत जानकारी गराउँदै नेपाल पोष्ट मिडियाले सबैमा आवश्यक सहयोग र समझदारीका लागि अनुरोध गर्दछ।

