वीरगन्ज,२६ माघ । सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रहरीसँग एकदिने अन्तरक्रिया कार्यक्रम वीरगन्जमा सम्पन्न भएको छ। नेपाल सरकार र स्वीट सरकारबीचको द्विपक्षीय सम्झौताअनुसार सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वीरगन्ज महानगरपालिकाको नेतृत्वमा गेटवे होटलमा कार्यक्रम आयोजना गरिएको हो।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदप्रसाद पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले वैदेशिक रोजगारीका क्रममा पीडित बनेका नागरिकको संरक्षण गर्नु राज्य र प्रहरीको दायित्व भएको बताए। वैदेशिक रोजगारीका लागि मेनपावर कम्पनीमार्फत कामदार पठाउने प्रक्रिया कानुनी भए पनि गैरकानुनी दलाल र एजेन्टको सक्रियताले समस्या बढिरहेको उनले उल्लेख गरे।
पोख्रेलले राम्रो कामको प्रलोभन देखाएर विदेश पठाई फरक काममा लगाउने जस्ता घटना बढिरहेको भन्दै त्यस्ता दलाल तथा एजेन्टलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिइएको जानकारी दिए। पीडितसँग पर्याप्त प्रमाण नभए पनि सम्भव भएसम्म छलफलमार्फत समस्या समाधान गर्ने र आवश्यक परे कानुनी कारबाही अघि बढाउने नीति अपनाइएको उनले बताए।
नेपालमा पर्याप्त रोजगारीको अभावका कारण धेरै नागरिक वैदेशिक रोजगारीमा जाने क्रममा ठगिने गरेको उल्लेख गर्दै उनले जिल्ला प्रशासन कार्यालयमा सुरक्षित आप्रवासन सामी कार्यक्रमको कार्यालय स्थापना गरिएको र पासपोर्ट बनाइसकेपछि अनिवार्य रूपमा परामर्श लिन आग्रह गरिएको बताए।
कार्यक्रममा सुरक्षित आप्रवासन सामी कार्यक्रमका संयोजक रामाशंकर कुशवाले प्रस्तुत गरेको प्रतिवेदनअनुसार हाल ३ लाख २५ हजार १७९ नेपाली वैदेशिक रोजगारीमा रहेका छन्। वैदेशिक रोजगारीका क्रममा ३३५ जना अंगभंग भएको तथ्याङ्क प्रस्तुत गर्दै उनले विदेश जानुअघि सीपमूलक तालिम लिन सके ठगीको जोखिम घटाउन मद्दत पुग्ने धारणा व्यक्त गरे।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका रोजगार संयोजक सुरज कुर्मीले स्वागत मन्तव्य राखेका थिए भने सहजीकरण मनोसामाजिक परामर्शकर्ता कञ्चन श्रीवास्तवले गरेका थिए। कार्यक्रममा आप्रवासी स्रोत केन्द्रका सूचना तथा परामर्शकर्ता तथा विभिन्न प्रहरी चौकीका प्रहरीहरूको सहभागिता रहेको थियो।

