Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

महतो नेतृत्वको सदभावना र...

बिरगंज , २९ पुस । आम जनता पार्टी (आजपा)ले मंगलबार एकैदिन दुई पार्टीसंग...

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

नितेशको भव्य आगमन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जब जिन्दगीमा केही बन्नुपर्छ भन्ने ज्ञान भयो, नितेशजंग कुँवरले एउटै सपना सजाए, गायक बन्ने ।

तर सपना देख्न जति सजिलो हुन्छ, पूरा गर्न त्यति नै मुस्किल । उमेरसँगै नितेशका जिम्मेवारी थपिए, गाएर आवश्यकता पूर्ति हुने माहोल मिलेन । त्यसैले गिटार छाडे, गाडी बिक्रेता कम्पनीसँग जोडिए । बैंकमा नोकरी गरे । दाम आउँथ्यो, खल्ती भरिन्थ्यो, मन रित्तै । न आफू खुसी, न त बुबा–आमा । छोरा गायक बनोस् भन्ने संगीतप्रेमी बुबाको चाह । तर समय उनीहरुको साथमा थिएन ।

यही उकुसमुकुस र छटपटीबीच नितेशले कठोर निर्णय गरे, जति जे गुमाउनु परोस्, जस्तो विघ्नबाधा आइलागोस्, संगीतकै गोरेटो पछ्याउने । ती दिनहरू सम्झादै भन्छन्, “मलाई केही चाहिएको थिएन, बस् बुबाआमा खुसी भइदिए पुग्थ्यो ।”

क्षमता र लगनशीलतासामु कसको के लाग्छ ! उनी र उनको परिवार मात्र होइन, संगीतका लाखौँ दर्शक–श्रोता फुरुंग छन् आज ।

व्यावसायिक गायन सुरु गरेको तीन वर्षमा उनले जे पाए, साँच्चै लोभलाग्दो छ । दुई दर्जन गीत लोकप्रिय हुनु चानचुने हो र ? सबै स्वीकार्छन्, नितेश नेपाली संगीतका नयाँ ‘सेन्सेसन’ हुन्, जसका गीत हिट मात्रै हुँदैनन्, उत्तिकै स्तरीय हुन्छन् । जसका गीतमा कोरा मनोरन्जन मात्र हुन्न, श्रोतालाई सोचाइको सागरमा डुबुल्की मार्न लगाउने सामर्थ्य पनि हुन्छ । जो गाउँदैनन् मात्र, लेख्छन् र कम्पोज पनि गर्छन् ।

यतिबेला नितेश दुई कारणले चर्चाको अग्रभागमा छन् । पहिलो, साता दिनमा तीन गीत सार्वजनिक गरे, युट्युबको नेपाल ट्रेन्डिङमा छाइरहे, भ्युज पनि उकासिँदो छ । दोस्रो, ग्रामी विजेता क्लिन ब्यान्डिटसँग सहकार्य गर्दै छन् । यो संयोग जुरेको हो, ‘टुबोर्ग ओपन’ का लागि । रचना र कम्पोजिसन नितेशले नै गर्नेछन् । भन्छन्, “प्रतिष्ठित कलाकारसँग काम गर्न पाउनु मेरा लागि अवसर हो । यसलाई विशेष बनाउन सक्दो प्रयास गर्दै छु । दर्शक/श्रोताले पक्कै सरप्राइज पाउनुहुनेछ ।”

नयाँ एल्बम अल्टरका बाँकी चार गीत पनि छिट्टै रिलिज गर्दै छन् । तयार भइसकेको गीत खटाई–खटाई सार्वजनिक गर्न उनलाई मन लाग्दैन । जति छिटो श्रोताले सुन्न पाउँछन्, उत्तिकै आनन्द मिल्छ पनि । आखिर उनले संगीतलाई अपनाएको पनि त्यही सुखानुभूतिका लागि त हो ।

भनिहालियो, नितेशले देखेको पहिलो सपना नै गायक हुने । भन्न बाँकी छ, कुन पृष्ठभूमिले उनलाई यो सपना देख्न प्रेरित गर्‍यो ? बुबा नरेन्द्र कुँवर आफैँ गीत गाउँदैनथे तर प्रिज्म ब्यान्डका सदस्यसँग दोस्ती प्रगाढ थियो । प्रिज्मले रक, पप, मेटल, ज्याज, ब्लुज गीत गाउँथ्यो ।

ब्यान्डको ज्याममा नरेन्द्र रोजै पुग्थे । उनको साथमा हुन्थे, ८–९ वर्षका नितेश । बुबाका साथीहरुले आफ्नै तालमा डुबेर गीत गाएका देख्दा रोमाञ्चित हुन्थे । घर आएपछि बुबालाई भन्ने पहिलो वाक्य हुन्थ्यो, म पनि त्यसरी नै गीत गाउँछु । नितेश सम्झन्छन्, “स्टेज चढेर माइक समातेर गाउँछु अनि सबैलाई उफार्छु भन्ने सोच्थेँ सधैँ । सोच्दै मन तरंगित हुन्थ्यो ।”

नरेन्द्र गिटार बजाउन पोख्त थिए । छोरालाई आफैँले सिकाए । भिन्न विधाका संगीत र तिनका विशेषता पनि नितेशले बुबाबाटै सिके । बाहिर धेरै घुमफिर गर्ने बानी थिएन, घरमा हुँदा हातमा गिटार हुन्थ्यो, कोही होस्/नहोस्, बजाउथेँ । आफैँ मस्त हुन्थे । भन्छन्, “अहिले पनि म त्यस्तै छु ।”

नितेशका लागि गीत लेखन भनेको आफूभित्रको भावना पोख्नु हो । आफ्नो भोगाइ/बुझाइ अरुसँग बाँड्नु हो । यसकै प्रतिफल थिए, सुरुआती दिनमा लेखेका गीत ‘वाल छैन…’, ‘बुझ्ने हैन कुरा…’ आदि । युट्युबमा अपलोड गरे तर खास चर्चा पाएनन् । बीचमा संगीतबाट हराए । जब ‘गेडाजस्तै जिन्दगी…’ गाए, उनको जिन्दगी नै बदलियो । फेसबुकमा सीमित साथीभाइ थिए, यो गीतपछि यति म्यासेज आउन थाले कि पढ्नै नभ्याउने । कन्सर्टबाट भटाभट अफर आउन थाले । सबैको आँखामा पर्न थाले । भन्छन्, “कति सुनसान र सुस्त थियो जीवन, एक्कासि भीडभाड र हतारोतिर धकेलियो । तर त्यसको मज्जा नि बेग्लै हुँदो रहेछ ।”

गीत सुन्नेले भन्थे, मेरै लागि गाइदिएजस्तो । गीतमा साथीसंगी र आफन्त विदेश गएर नेपालमा आफू एक्लै हुँदाको पीडा पोखिएको जो छ । त्यो पनि युवा पुस्ताले नै प्रयोग गर्ने झर्रो भाषा र शैलीमा । प्यारो नबनोस् कसरी ?

नितेश ‘ट्रेडमार्क’ नै हो, उनका गीतहरु जीवन भोगाइको समीपमा हुन्छन् । छन्द मिलेको हुन्न तर मन छुन्छ । भारी होइन, बोलीचालीका शब्दसँग प्रेम छ उनको । भन्छन्, “म यस्तो गीत र भावनाको खोजीमा हुन्छु, जुन सबैको साझा बनोस् । अरुले पनि अपनत्वबोध गर्न सकून् ।”

पछि उनलाई ‘हाम्रो नेपालमा…’ गीतले चम्कायो । यसपछि त रफ्तारमा गीत निकाल्न थालिहाले । नत्र तीन वर्षमा २७ गीत सम्भव हुन्थ्यो होला र ? अर्को गतिलो संयोग, उनले कहिल्यै अरुले लेखेको गीत गाएका छैनन् । प्रयास गरे तर सकेनन् रे । अरुका शब्दसँग आफूलाई समाहित गराउन मुस्किल परेछ । उनी आशावादी छन्, “सायद म निखारिँदै गएपछि अरुका गीत पनि गाउन सक्छु कि ? अहिल्यै त्यो साहस छैन ।” त्यसो भए, उनको लेखनदेखि गायनसम्मको प्रक्रिया कस्तो हुन्छ त ?

नितेशका लागि गीत लेखन कथावाचनको माध्यम हो । लेख्दा यति रमाउँछन् कि आफैँसँग आफैँले भलाकुसारी गरेजस्तै लाग्छ । बेग्लै संसारमा पुग्छन् । मनमा जे–जे आउँछ, कागजमा पोखिहाल्छन् । जब शब्दले संगीत पाउँछ, त्यसको मिठास अलग्गै हुन्छ, शब्दप्रतिको स्नेह बढ्छ । गाएपछि त चरम सन्तुष्टि मिल्ने भइहाल्यो । उनी भन्छन्, “लाइभ सोमा आफू सँगसँगै अरुले आफ्नो गीत गाउँदा त स्वर्णिम अनुभूति हुन्छ । म यसकै लागि बाँचेको हुँ जस्तो लाग्छ ।”

यो पल विशेष किन पनि हुँदो रहेछ भने लेख्दा, कम्पोज गर्दा उनले विशुद्ध आफ्नो सन्तुष्टि पूरा गरिरहेका हुन्छन् । कसलाई मन पर्ला, कसलाई नपर्ला ? वास्तै हुन्न । यसरी आफ्नो आत्माबाट निस्किएको गीत अरुले आत्माबाटै ग्रहण गरेपछि नितेशलाई महसुस हुँदो रहेछ, संगीतका सामर्थ्य ।

नितेश यतिविघ्न हिट छन् तर अहिले पनि निर्धक्कसँग भन्छन्, म अरुका लागि होइन, आफ्नै लागि गाउँछु । किन ? उनको बुझाइ रहेछ, “सिर्जना फूलजस्तै सुगन्धित र मुलायम हुनुपर्छ । तर भीड वा बजारबाट निर्देशित सिर्जना सुकेको पातजस्तै सुगन्धहीन र निरस हुन्छ ।”

कलाकार स्वभावले नै लोभी हुन्छन्, जति लोकप्रियता र व्यस्तता बढ्यो, उति दंग पर्छन् । अझ कति त हिट हुनकै लागि गाउँछन् । यस मामलामा पनि नितेश भिन्न लाग्छन् । अघिल्लो वर्ष यस्तो समय पनि आयो, चाहे देशभिक्रका सांगीतिक कार्यत्रममा होस्, चाहे बाहिर– नितेशकै डिमान्ड । ब्रान्ड प्रमोसनमा त्यत्तिकै खट्नुपर्ने । मिडियाले उस्तै खोजिरहे । कहिलेकाहीँ बाटोमा एक्लै हिँड्थे तर फ्यानले पछ्याएर हैरान । अनि ऐनाअगाडि बसेर आफैँलाई सोधेछन्, ‘यी सबका लागि मैले गाएको हो त ?’ जब मनले ‘होइन’ भन्यो, नितेशले नयाँ कन्सर्टका सम्झौता गरेनन् । मिलेसम्मका सो रद्द गरे । फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सन्जालबाट पर बसे । पर भनेको आफ्नै घर ।

धेरै समय पनि गुमनाम भएको होइन, जम्मा तीन साता । तर यही समय उनका लागि स्वर्णिम बन्यो । १२ गीत लेखे, कम्पोज गरे अनि गाए । बिहानदेखि नसुतेसम्म संगीतमै लीन हुन्थे । “बाहिर खुब चमकधमक थियो तर भित्र–भिक्रै म खोत्रो भइसकेको रहेछु, म को हुँ नै भुलिसकेजस्तो,” नितेश सुनाउँछन्, “तर त्यो बसाइले फेरि पुरानै नितेश बनायो । यसो भनौँ, मेरो मन रिचार्ज भयो ।”

अहिले पनि जब कन्सर्ट र अन्य कार्यक्रमले भ्याईनभ्याई हुन थाल्छ, नितेश आफ्ना लागि समय निकालिहाल्छन् । नत्र दिमाग ‘खाली’ र ‘बन्द’ हुन्छ रे ।

त्यसो भयो भने घरि प्रेमिकालाई फकाउँदै, घरि आमाप्रतिको प्रेम व्यक्त गर्दै, घरि देशप्रेम झल्काएर, घरि बेरोजगार र एक्लो हुनुको पीडा पोखेर कसरी गीत सिर्जना गर्न सक्नू ? ‘हलन्ते…’मा लेख्छन्, ‘हुन त मन थेन मलाई नि बेरोजगार, समयले गर्दियो मेहनतको बलात्कार ।’

हालै रिलिज ‘मेरी आमा…’ मा लेख्छन्, ‘याद आएमा सम्झनु है, महसुस अवश्य हुनेछ यहाँ मलाई ।’ उनको ‘आश्मा…’ गीत सुन्दा आफ्नो प्रेमिकालाई नसम्झने सायदै कोही हुन्छन् । उनले पनि आफ्नो प्यारो मान्छेका लागि लेखेका रहेछन् । यसको लिरिकल भिडियोले युट्युबमा ७२ लाख भ्युज पाइसकेको छ । भलै उनी ‘केटीका लागि मात्र नगाउने’ बताउँछन् ।

खासमा यही फरक आयाम र विषयका गीतले हो, नितेशलाई आम गायकभन्दा विशेष बनाएको । अर्थपूर्ण र अपनत्वबोध हुने शब्द चयन गर्नमा चाहिँ उनले पढिरहने उपन्यास र कथाका किताबको पनि भूमिका रहेछ ।

नितेश ढाँट्दैन, गीत गाएरै उनलाई दुनियाँ पाउनु छ । अझ धेरै श्रोता कमाउनु छ, जसले उनका गीत गुनगुनाऊन् । सँगै उनलाई यो पनि थाहा छ, यो चमकधमक सधैँ नटिक्न सक्छ । अहिलेको सफलताको भर्‍याङले उनलाई माथि लग्दैन मात्र, त्यही भर्‍याङ हुँदै ओर्लिने दिन पनि आउन सक्छ । “त्यतिबेला पनि डिप्रेसनमा जान्नँ । किनभने न मबाट कसैले गिटार खोस्न सक्छ, न त मसँगै मेरा गीत अस्ताउनेछन्,” नितेश भन्छन्, “मेरा गीत त सधैँ चम्किरहनेछन्, दर्शक/श्रोताको मनमा । त्यत्ति भए पुग्छ ।”

-Nepal Saptahik

ताजा समाचार

थप समाचार