सन्तोष साह/२४ वैशाख, वीरगन्ज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, २०७७ वैशाख ११ गते पार्टी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा विभाजनको सँघारमा पुगेर रोकिएको थियो ।
यसैगरी २०७९ असार ३१ गते डा.बाबुराम भट्टराईले केही नेता लिएर जसपा नेपाल विभाजन गरे । भट्टराईले महिन्द्र राय यादव, रमेश यादवलगायत केही प्रभावशाली नेतालाई साथमा लिएर गएका थिए ।
त्यसको दुई वर्ष नपुग्दै जसपा फेरि विभाजनको सिकार भएको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ ।
संघीय संसद्मा प्रतिनिधित्व गर्ने ७ सांसदहरू राईसहित नवल किशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै उनीहरूसँग ३० जना केन्द्रीय सदस्य रहेका छन् ।
मधेसमा कमजोर भए उपेन्द्र
जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि मधेश प्रदेशमा सबैभन्दा पहिलो असर देखिएको छ । पार्टीका लागि मधेशमा प्रभावशाली मानिएका नेताहरु रेणु यादव, प्रदीप यादव, मोहम्मद इस्तियाक राई, वीरेन्द्र महतो, नवल किशोर साह आदि अशोक राईको पक्षमा छन् ।
मधेस प्रदेशका पश्चिमी भेगका जिल्लाहरूमा राई पक्षको वर्चश्व रहेको छ भने पूर्वी तराईका जिल्लाहरूमा डा.सिके राउत नेतृत्वको जनमत पार्टीको प्रभाव देखिन्छ । पर्सामा राम्रो जनलहर रहेको मानिएका प्रतिनिधिसभा सदस्य प्रदीप यादवको छिमेकी जिल्लाहरू बारा, रौतहट लगायतमा मजबुत प्रभाव रहेको मानिन्छ । त्यसैले यी जिल्लाका अधिकांश नेता कार्यकर्ताहरूले उपेन्द्रको साथ छाड्ने राजनीतिक क्षेत्रका जानकारहरुको विश्लेषण छ ।
मुलुककै आर्थिक नगरीको रुपमा परिचित वीरगञ्ज रहेको पर्सा जिल्लालाई जसपाको पकड जिल्लाका रुपमा चिनिन्छ । प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदीप यादव विजयी भएका छन् । कुल १४ वटा स्थानीय तहमध्ये ५ वटा जसपाले जितेको छ ।
मधेश प्रदेशकै एक मात्र महानगरपालिका रहेको वीरगञ्ज महानगरका प्रमुख (मेयर) राजेशमान सिंह पनि राई समूहमा मिसिएका छन् ।
उनी राई नेतृत्वको जसपाको केन्द्रीय सदस्य समेत बनिसकेका छन् । सिंह वीरगन्जको चर्चित एवं प्रभावशाली युवा नेताका रुपमा परिचित छन् । योसँगै सांसद यादव र मेयर सिंहले साथ छाडेपछि यस क्षेत्रमा उपेन्द्रको पार्टीको उपस्थिति लगभग शून्य जस्तै हुने आँकलन गरिएको छ ।
यसैगरी मधेश केन्द्रित दलको रुपमा परिचित जसपाले राष्ट्रिय पार्टी बनाउने हेतुले हिमाल र पहाडका जिल्लाहरूमा पनि संगठन विस्तार गर्दै लगेको थियो । अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरूको प्रभाव रहेका क्षेत्रहरूमा जसपाको पार्टी संगठन फैलिँदै जाने क्रममा थियो । पार्टी विभाजनसँगै यी क्षेत्रहरूमा उपेन्द्रको प्रभाव कम हुने देखिन्छ ।
संसदमा प्रतिस्पर्धी सिके राउत भन्दा पनि कमजोर
तराई मधेशको राजनीतिमा जनमत पार्टीका अध्यक्ष डा.सिके राउत र उपेन्द्र यादवलाई एक अर्काको कडा प्रतिस्पर्धीका रुपमा चिनिन्छ । सिके राउतसँगको टक्करका कारण २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा सप्तरीमा तीतो हार चाख्नु प¥यो ।
संसद भवन पस्ने ढोका नै बन्द भएपछि उनले चोर बाटो खोजेर पछि बाराबाट निर्वाचित रामसाहय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर संसद भवनको यात्रा तय गरे । उनलाई जिताउन पर्साका सांसद प्रदीप यादव, मेयर राजेशमान सिंह लगायतका नेताहरूको ठूलो भूमिका रहेको थियो ।
पछिल्लो समय जनताका सवाल र मधेशको मुद्धालाई लिएर राउत नेतृत्वको जनमत पार्टीले प्रभाव बढाउँदै गएपछि उपेन्द्र यादवको प्रभाव कम हुँदै गएको अवस्थामा पार्टी विभाजनले झन कमजोर बनाएको छ ।
यतिबेला उनी माधव नेपालको एकीकृत समाजवादी भन्दा मात्रै होइन, उनका प्रतिस्पर्धी सीके राउतको जनमत पार्टीभन्दा पनि एक सिट कम अर्थात् जम्मा पाँच सांसदको नेतामा सीमित हुन पुगेका छन् । उनी यतिबेला आफ्नो राजनीतिक करिअरमा सर्वाधिक कमजोर घुम्तीमा आइपुगेका छन् ।
जसले आफू अमेरिका भ्रमणमा रहेका बेला पार्टी फुटको सामना गर्नुप¥यो । उनले दुई वर्षअघि आफ्नो दलबाट फुटेका महन्थ ठाकुर, राजेन्द्र महतो लगायतले लोसपा बनाउँदा पनि यत्रो संकट सामना गर्नुपरेको थिएन ।
पार्टी महाधिवेशनको मुखमा उनी कमजोर बन्न पुगेका छन् । यसको पहिलो असर सत्ता गठबन्धनमा परेको जस्तो देखिए पनि खास मूल्य मधेश प्रदेशको सरकारले चुकाउनुपर्नेछ । केन्द्रमा गठबन्धनको सरकार सुरक्षित बने पनि मधेशमा गठबन्धन फेरबदलको खतरा बढेको छ ।

