spot_img

तीन सय बिघा जग्गा भारतीयको कब्जामा

spot_img
spot_img

कलाली । कैलालीमा नेपालको ३०० बिघा जग्गा भारतीयले ३५ वर्षदेखि कब्जा गरेका छन् । यसरी कब्जा गरेको भूमिमा उनीहरुले उखु खेती गर्दै आएका छन् । टीकापुर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने उक्त जग्गा भारतीय नागरिकलाई केहीले लिज र केहीले आधा उब्जनी दिने सर्तमा ३५ वर्ष पहिले दिएका हुन् ।

पर्ती जग्गा भए पनि साविकको धनसिंहपुर गाविसका करीब ५० जना व्यक्तिले आफ्नो जग्गा भएको दाबी गर्दै आएका छन् । उनीहरुले २०२६ सालबाट भोगचलन गरेको जग्गा सुरक्षाका कारण भारतीय नागरिकलाई लिज र आधा उब्जनी पाउने सर्तमा दिएका हुन् । ‘२०४० साल अघिसम्म लिजको रकम र आधा उब्जनी दिए, ०४० सालपछि केहीले मात्र दिने गरेका छन्’, जग्गाधनी दाने साउदले भने, ‘नदीले कटान गरेर जग्गा पुल पारी गएपछि जग्गा भोगचलन गर्न गाह्रो भयो ।’

खेती गरे पनि भारतीयले नोक्सान गर्न थालेपछि थाकेर भारतीयलाई खेती गर्न दिनु परेको साउँदको गुनासो छ । यहाँ चारदेखि २० बिघासम्मका जग्गाधनी छन् । सुरक्षा नभएपछि त्यस क्षेत्रका जग्गाधनी अन्यत्र सर्न बाध्य भएका छन् । जग्गा भारतीयले कब्जा गरेपछि कतिपय भारत गएर जीवन निर्वाहमा लागेका स्थानीयवासीको भनाइ छ ।

‘मेरो १५ बिघा जग्गा भारतीय नागरिकलाई २०६२ सालमा आधा उब्जनी दिने सर्तमा खेती गर्न दिए, २०७० सालसम्म भनेअनुसार बाली दियो, पाँच वर्षदेखि केही पाएको छैन’, जग्गाधनी कृष्णप्रसाद ढुङ्गानाले भने, ‘बाली माग्न गयो धमक्याउँछ ।’ जग्गा पाऊँ भनेर इलाका प्रशासन र इलाका प्रहरी कार्यालय टीकापुरमा दुई वर्षअघि उजुरी दिएको उनले बताए । ‘गाविसले जग्गा प्रमाणित सिफारिश दिएको छ लाजपुर्जा नहुँदा न्याय पाउन सकेनौँ’, उनले भने ।

सरकारी पक्ष जिम्मेवार नहुँदा नेपाली भूमि भारतीयले कब्जा गरेको स्थानीयवासीको भनाइ छ । ‘सरकार नै जग्गा सुरक्षाका बारेमा मौन बसेपछि जनताले के गर्ने ?’, स्थानीय शेरबहादुर साउँदले भने, ‘सरकारले नापी गराएर जग्गा दिने प्रयास नै गरेन ।’

यतिखेर त्यहाँ दुई वटा भारतीय बस्ती बसेका छन् । त्यो क्षेत्र जङ्गल क्षेत्र हो । अहिले त्यहाँ वन नभएर बस्ती मात्र छ । वन फाँडेर धनसिंहपुर बस्ती बसेको हो । स्थानीय तह समायोजनपछि अहिले टीकापुर नगरपालिकाभित्र पर्दछ ।

स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि एक वर्षअघि नेपाली भूमिमा बसेको भारतीय बस्तीलाई खाली गराउन टीकापुर नगरपालिका–९ ले सार्वजनिक सूचना जारी ग¥यो तर खाली गर्न सकेन । स्थानीय तहले सक्रियता नदेखाउँदा भारतीय पक्षको मनोबल बढेको स्थानीयवासीले गुनासो गर्न थालेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय