काठमाडौँ,०३ असार । संसदीय समितिले एसपीपीका सम्बन्धमा भएका पत्राचार वा सहमतिको कागजात सात दिनभित्र उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले एसपीपीका सम्बन्धमा नेपालको रक्षा र परराष्ट्र मन्त्रालय तथा नेपाली सेनाका तर्फबाट अमेरिकासँग गरेका पत्राचार वा सहमति सात दिनभित्र समिति उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो ।
बैठकले एसपीपीका बिषयमा तत्कालीन परराष्ट्र सचिवको नेतृत्वमा रक्षा र गृहसचिव प्रधानसेनापति सम्मिलित कार्यदलको निष्कर्षलाई समितिसमक्ष प्रस्तुत गर्न निर्देशन दिने निर्णय भएको सभापति पवित्रा निरौलाले बताए ।
एसपीपी ‘इण्डो प्यासिफिक रणनीति’ को हिस्सा बन्ने अमेरिकाको प्रतिवेदनपछि अब उप्रान्त यसमा नेपाल सरकार सहभागी नहुने अमेरिकालाई अवगत गराउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने निर्णय बैठकले गरेको उनले बताए ।
प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा कुनै पनि विवादास्पद सहमति वा कार्य नगर्न निर्देशन दिएको सभापति निरौलाले बताए ।