काठमाडौं,०४ असार । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नागरिकताको विषय संसद्मा उठाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको समस्या तत्कालै समाधान गर्ने आश्वासन दिएपनि हालसम्म त्यसमा कुनै प्रगति नभएको बताउँदै अब यस विषयलाई संसद्मै उठाउने लोसपाले जनाएको हो । लोसपाका कार्यकारिणी सदस्य एवं संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले भने, ‘नागरिकताको समस्या समाधानलगायत विभिन्न ११ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको आज १२ दिन भइसक्यो तर अहिलेसम्म त्यसको सुरसार पनि भएको छैन । यो बीचमा हामीले ताकेताका लागि जेठ ३० गते पनि हामीले प्रधानमन्त्री देउवालाई भेटेका थियौँ । वहाँले छिट्टै गर्छौ भन्नुभएको थियो, तर अहिलेसम्म केही भएको छैन । त्यसैले हामी सोमबारदेखि संसद्मा यो कुरा उठाउँछौं ।’
सुरुमा आफूहरूले शान्तिपूर्ण तरिकाले यो कुरा उठाउने नभए संसद् अवरोध गर्नेसम्मको कदम पनि उठाउने उनले बताए । नागरिकतालगायतका विभिन्न माग लिएर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र दिँदा सरकारका लागि गरिएको बार्गेनिङ रहेको हल्ला फिजाइएको र त्यसमा कुनै सत्यता नरहेको उनले बताए ।
लोसपा बिना एजेण्डा कहिले पनि सरकारमा सहभागी भएको नभएकाे पनि उनको जिकिर थियो । अहिले पनि मधेसको माग पुरा गराउनका लागि वर्तमान सरकारलाई दबाब दिँदै आएको उनले बताए ।