बीरगन्ज,२८ कार्तिक – विश्व मधुमेह दिवसका अवसरमा देशै भरी बिभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । यसै क्रममा दिवसको अवसरमा बीरगन्जमा पनि जनचेतना मुलक कार्यक्रमहरुको आयोजना गरिएको छ । दिवसका अवसरमा बीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले महानगरको सभाहलमा स्वास्थ्य जाँच शिविर सञ्चालन गरेको छ । कार्यक्रमको मेयर राजेशमान सिंहले आफ्नो रगत परिक्षण गराइ उद्घाटन गरेका थिए ।
मेयर सिंहले तालिका बनाई महानगरका सम्पूर्ण कर्मचारीहरुको नियमित स्वास्थ्य परिक्षण गर्न स्वास्थ्य शाखालाई निर्देशन दिएका दिए । कार्यक्रममा महानगरपालिकाका कर्मचारी र सेवा लिन आएका सेवाग्राहीहरुको रगत परिक्षण गर्नुको साथै चेतनामूलक पर्चा वितरण गरिएको स्वास्थ्य शाखाका जहिर आलमले बताए ।
मधुमेह उपचारको लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेडरिक ब्यान्टिङको जन्मदिनको अवसर पारेर हरेक वर्ष नोभेम्बेर १४ लाई विश्व मधुमेह दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा पनि यो रोग उल्लेखनीय रुपमा बढिरहेको तथ्याङ्क छ । छिटो–छिटो पिसाब लाग्ने, मुखसुक्ने, बढी भोक लाग्ने, तौल घट्ने जस्ता मधुमेह रोगका लक्षणहरू हुन् । यसबाट जोगिन खानपिन र शारीरिक व्यायाममा विशेष ध्यान दिनुपर्ने मेयर सिंहले सुझाव दिएका थिए ।