काठमाडाैँ,१३ फागुन । नेकपा एमालेका सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
शनिबार दिउँसो संसद भवनस्थित निर्वाचन अधिृकतको कार्यालयमा पुगेर नेम्वाङले एमालेका तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गरेका हुन् । नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।
उम्मेदवारी दर्ताका लागि नेम्वाङसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, सचिवहरू योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठलगायत नेताहरू संसद भवन पुगेका थिए ।
राष्ट्रपतिका लागि उम्मेदवारी दर्ताको समय बिहान १० देखि दिउँसो ३ बजेसम्मका लागि तोकिएको छ । यसअघि एमालेले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
माओवादी केन्द्र, कांग्रेससहित ८ दलले भने रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेका छन् । पौडेलले दिउँसो २ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।