वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरण सहज बनाउने गरी काम अघि बढाइएको बताएका छन्।
आज नेपाल आयल निगम वीरगञ्ज शाखाले पुनः सञ्चालन गरेको पेट्रोलियम पदार्थ बिक्री वितरण बिलिङ कार्यको उद्घाटन गर्दै मन्त्री रिजालले पेट्रोलियम पदार्थ चुहावट नियन्त्रण गरिने उल्लेख गर्दै बिक्री वितरणलाई पनि सहज बनाइने बताएका हुन्।
मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा पुगेकाले अब पेट्रोलियम पदार्थ आपूर्ति सहज र व्यवस्थित हुने उल्लेख गर्दै उनले पेट्रोलियममा हुने चुहावट नियन्त्रणका लागि ट्यांकरमा ‘टैंक–ट्रक लकिङ’ लगाउने कामसमेत सुरु भइसकेको जानकारी दिए।
पेट्रोलियम ढुवानी सहज भएसँगै बिक्री वितरणको बिलिङलाई सहज बनाउन निगमको शाखाबाटै बिलिङ दिने कामको सुरुआत भइसकेकाले अब बिलिङका लागि अमलेखगञ्ज धाउनुपर्ने अवस्था अन्त्य हुने मन्त्री रिजालले दाबी गरे।
वीरगञ्जबाट पेट्रोलियम पदार्थको बिलिङ सुरु भएसँगै पर्सा, बारा, रौतहटलगायत जिल्लाका ढुवानी व्यवसायीलाई सहज हुने उल्लेख गर्दै उनले यसबाट चुहावट नियन्त्रणमा समेत मद्दत पुग्ने बताए। सो अवसरमा मन्त्री रिजालले बिलिङ काउन्टरबाट काटिएको पहिलो बिलिङ ढुवानीकर्तालाई वितरण गरेका थिए।
निगमको वीरगञ्ज शाखाबाट पेट्रोलियम पदार्थको बिलिङ हुँदै आएकामा २०७७ माघदेखि बन्द थियो। अहिले तत्कालका लागि वीरगञ्ज शाखाबाट डिजेल बिलिङ गरिने र पेट्रोल तथा मट्टीतेलको प्रादेशिक कार्यालय अमलेखगञ्जबाटै हुने व्यवस्था मिलाइएको निगमको वीरगञ्ज शाखाका प्रमुख मनोज कुमारले जानकारी दिए।
वीरगञ्जबाट बिलिङ सुरु गर्दा ढुवानी व्यवसायीलाई सहज हुने र ढुवानी खर्चसमेत कम लाग्दा केही मूल्य पनि घट्ने भएकाले यहाँबाट पनि पुनः बिलिङ सुरु गरिएको आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज, बाराका प्रमुख विनितमणि उपाध्यायले बताए। यसअघि शुक्रबार आयल निगम मधेस प्रादेशिक कार्यालयले दोस्रो चरणको टैंकट्रक लकिङ सुरु गरेको थियो।–रासस