वीरगञ्ज – १३ वर्षीय बालिकामाथि सामूहिक बलात्कारको आरोपमा एमाले नेता पक्राउ
जनकपुरमा १३ वर्ष ४ महिनाकी नाबालिगलाई दुई दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको गम्भीर आरोपमा नेकपा एमालेका नेता शिवशङ्कर साह ‘हिरा’ पक्राउ परेका छन्। साह एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता मानिन्छन्।
धनुषा प्रहरीले जनाएको छ कि साहलाई भारतको सीतामढी जिल्लाबाट पक्राउ गरी नेपाल ल्याइएको हो। उनी प्रहरीको पक्राउ पुर्जी जारी भएपछि भारततर्फ फरार भएका थिए। नेपाल प्रहरी र भारतीय सुरक्षा निकायको समन्वयमा उनलाई नियन्त्रणमा लिइएको धनुषा प्रहरी प्रवक्ता गणेशबहादुर बमले जानकारी दिएका छन्।
सोही घटनामा नाबालिगकी मामा सञ्जय महासेठलाई पनि पक्राउ गरिएको छ। उनमाथि घटनालाई मिलापत्र गर्ने प्रयास गरेको र पीडित परिवारबाट रकम लिएको आरोप छ।
प्रहरीका अनुसार, गत कात्तिक २२ गते जनकपुरको जानकी चोकस्थित एक होटेलमा शिवशङ्कर साहसहित चार जनाले बालिकामाथि सामूहिक बलात्कार गरेका थिए। दुई साता अघि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि अनुसन्धान सुरु भएको थियो। यसअघि साहका दाजु मनोजकुमार साह (महतो) पक्राउ परेर बयान दिइसकेका छन्। उनका बयानका आधारमा साहसहित तीनजनाविरुद्ध थप पक्राउ पुर्जी जारी भएको छ, जसमा दुई जना अझै फरार छन्।
शिवशङ्कर साह २०७९ सालको स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरका बलिया उम्मेदवार थिए र आगामी निर्वाचनमा मेयर बन्ने प्रबल दाबेदार मानिएका थिए। त्यस्तै, उनी एमालेको आसन्न ११औँ महाधिवेशनका लागि धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि निर्वाचित भइसकेका थिए।
धनुषा प्रहरीले एसपी रुग्मबहादुर कुँवरको नेतृत्वमा घटनाको गहिरो अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतले भने, “राजनीतिक दबाबका बाबजुद जघन्य अपराधमा संलग्न सबैलाई कानूनी कठघरामा उभ्याउँछौँ।”
नाबालिगमाथि हुने यौन हिंसाका घटना मुलुकभर बढ्दै गएका छन्। यस किसिमका घटनामा राजनीतिक र व्यवसायिक प्रभावशाली व्यक्तिहरूको संलग्नताले घटना अझ गम्भीर र चर्को सामाजिक प्रभाव पाएको छ।

