वीरगंज बीपी उद्यानको जग्गामा बनेका घर–टहरामा डोजर चल्याे, सौन्दर्यकरण द्रुतगतिमा अघि बढ्ने मेयर सिंहको दाबी

spot_img

वीरगंज, २८ मंसिर – वीरगंज महानगरपालिकाले बीपी उद्यान खाली गर्न दिएको म्याद सकिएसँगै घण्टाघर छेउमा रहेको बीपी उद्यानको जग्गा खाली गराउने अभियान सुरु गरेको छ। आइतबार बिहानै जग्गा खाली गराउन दलबल र डोजरसहित पुगेका महानगरपालिकाका कर्मचारी र नगर प्रहरीबीच स्थानीयसँग घण्टाघरस्थित बीपी उद्यान क्षेत्रमा घम्साघम्सी भएको थियो।

महानगरपालिकाको टोली बिहान करिब ५ः३० बजे नै घण्टाघर पुगेको थियो। अवैध संरचना बनाएर बसेकाहरूले महानगरका प्रतिनिधि तथा नगर प्रहरीलाई अवरोध गरेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई समेत थप सहयोगका लागि बोलाइएको थियो।

डोजरले घर तथा टहराहरू भत्काउन थालेपछि घण्टाघर क्षेत्रमा बिहानैदेखि तनाव उत्पन्न भएको थियो। स्थानीयको अवरोधका बाबजुद महानगरपालिकाले सबै संरचना हटाइसकेको र हाल अवस्था सामान्य रहेको वीरगंज महानगरपालिकाले जनाएको छ।

जग्गा खाली गराउने क्रममा सामान्य विवाद बाहेक कुनै अप्रिय घटना नभएको र स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको पनि महानगरले जनाएको छ।

महानगरपालिकाका मेयर राजेशमणि सिंहले बीपी उद्यानलाई सार्वजनिक प्रयोजनका लागि व्यवस्थित, सुरक्षित र आकर्षक स्थलका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको बताउँदै सोहीअनुसारका कामहरू छिट्टै द्रुतगतिमा अघि बढाइने दाबी गरे।

यद्यपि, गरिब दलित समुदायको उचित व्यवस्थापन नगरी महानगरले डोजर चलाएको भन्दै सो स्थानमा लामो समयदेखि बसोबास तथा तरकारी व्यवसाय गर्दै आएका केही दलितहरूले महानगरको कार्यशैलीप्रति विरोध जनाएका छन्।

यस विषयमा प्रतिक्रिया दिँदै मेयर सिंहले फलफूल तथा तरकारी व्यवसायीहरूले पटक–पटक आफैं समय मागेर पनि तोकिएको समयमा जग्गा खाली नगरेको कारण बाध्य भएर डोजर प्रयोग गर्नुपरेको बताए। उनले जुन उद्देश्यका लागि उक्त स्थान छुट्याइएको हो, सोही उद्देश्यअनुसार विकास कार्य अघि बढाइने स्पष्ट पारे।

उता, बीपी उद्यान निर्माण हुनु पर्ने र घण्टाघर क्षेत्रको सौन्दर्यकरणमा महानगर गम्भीर हुनुपर्ने माग गर्दै धेरै महानगरवासीहरूले यस अभियानको सराहना गरेका छन्।

यसअघि पनि महानगरपालिकाले पटक–पटक उक्त जग्गा खाली गराउने प्रयास गरे पनि सफल हुन सकेको थिएन। गत वर्ष पनि सूचना जारी गरिएको र त्यसपछि लिखित, मौखिक तथा सार्वजनिक सूचनामार्फत पटक–पटक जग्गा खाली गर्न अनुरोध गरिएको भए पनि स्थानीयहरूले अटेरी गरेको मेयर सिंहका प्रेस सल्लाहकार नवराज फुयाँलले जानकारी दिए।

उनका अनुसार पछिल्लो पटक २०८२ कात्तिक २५ गते स्थानीय पत्रपत्रिकामा सूचना प्रकाशित गरी जग्गा खाली गर्न अनुरोध गरिएको थियो। यसअघि सो क्षेत्रका तरकारी बजार व्यवस्थापनका लागि वीरगंज महानगरपालिका वडा नं. २ अन्तर्गत रेल्वे रोड, नारायणी अस्पताल पछाडि अत्याधुनिक सुविधा सम्पन्न फलफूल तथा तरकारी बजार सञ्चालनमा ल्याइसकिएको पनि फुयाँलले बताए। तर बीपी उद्यान क्षेत्रमा कारोबार गरिरहेका व्यवसायीहरूले त्यहाँ जान अटेरी गरेको उनको भनाइ छ।

बीपी उद्यानमा बसोबास गर्दै आएका केही दलित तथा सुकुम्बासी भनिएकामध्ये अधिकांश वीरगंज महानगरपालिकाकै सरसफाइ कर्मचारी रहेको र उनीहरूको वीरगंजमै आफ्नै घरसमेत रहेको फुयाँलले नेपाल पोष्ट डेलीलाई बताए।

बारम्बारको अनुरोधलाई बेवास्ता गरेपछि यसपटक महानगरपालिकाले व्यवसायीहरूलाई न्यून क्षति हुने गरी अवैध रूपमा बनाइएका घर–टहरा हटाएको र बाहिर प्रचार भएजस्तो कुनै ठूलो विवाद नभएको पनि उनले स्पष्ट पारे।

spot_img

ताजा अपडेट

लोकप्रिय