काठमाडौँ,२७ माघ । विश्व क्रिकेटका सबैभन्दा ठूलो प्रतिस्पर्धी मानिने भारत र पाकिस्तानबीचको टी–२० विश्वकप खेल हुने निश्चित भएको छ। पाकिस्तान सरकारले सोमबार राति औपचारिक निर्णय गर्दै भारतविरुद्धको निर्धारित खेल खेल्न राष्ट्रिय टोलीलाई निर्देशन दिएपछि लामो समयदेखि रहेको अन्योल समाप्त भएको हो।
यस निर्णयसँगै आगामी फेब्रुअरी १५ मा श्रीलंकाको कोलम्बोमा भारत र पाकिस्तानबीच बहुप्रतीक्षित भिडन्त हुने पक्का भएको छ। पाकिस्तान सरकारद्वारा जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र बंगलादेश क्रिकेट बोर्डबीच भएको बहुपक्षीय छलफल सकारात्मक निष्कर्षमा पुगेको जनाइएको छ।
यसअघि बंगलादेशलाई विश्वकपबाट हटाउनुपर्ने माग पूरा नभएको भन्दै पाकिस्तान असन्तुष्ट देखिएको थियो र भारतविरुद्धको खेल बहिष्कार गर्ने संकेतसमेत दिएको थियो। तर आईसीसीले बंगलादेशमाथि कुनै कारबाही नगर्ने निर्णय गरेपछि स्थिति सहज बन्दै गएको हो।
विवाद समाधानका लागि कूटनीतिक पहलसमेत भएको थियो। पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र श्रीलंकाका राष्ट्रपति कुमारा दिसानायकेबीचको संवाद, साथै श्रीलंका र युएईलगायत देशहरूले खेल बहिष्कार गर्दा पर्न सक्ने ठूलो आर्थिक असरबारे ध्यानाकर्षण गराएपछि पाकिस्तान लचक देखिएको बताइन्छ।
क्रिकइन्फोका अनुसार सबै सदस्य राष्ट्रहरूले प्रतियोगिताप्रति आफ्नो प्रतिबद्धता कायम राख्ने र टी–२० विश्वकप सफल बनाउन एकताबद्ध भएर अघि बढ्ने सहमति गरेका छन्। भारत–पाकिस्तान भिडन्त पक्का भएसँगै विश्वभरका क्रिकेट समर्थकहरूमा उत्साह थपिएको छ।



