राैतहट,२७ माघ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा रौतहट क्षेत्र नम्बर–१ मा मतदाताले दुई दशकदेखिका विकास योजनाहरू पूरा नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
स्थलगत रिपोर्टिङका क्रममा मतदाताले बागमती नदीको पुल नबनेको, सडक र नालाको अवस्था बेहाल रहेको, रोजगारी र कृषि समस्याहरू झेल्नु परेको गुनासो पोखे। यमुनामाई, दुर्गा भगवती गाउँपालिका र राजदेवी नगरपालिका क्षेत्रका मतदाताले पुराना दलका उम्मेदवारप्रति विश्वास घटेको बताउँदै अब परिवर्तनका लागि नयाँ उम्मेदवारलाई अवसर दिने मनस्थिति रहेको बताए।
राजदेवी–३ निवासी राजाराम राउतले भने, “यो क्षेत्रले ठूला नेतालाई निर्वाचित गरायो, तर बागमतीमा पुल नहुँदा जनता डुङ्गा प्रयोग गर्न बाध्य छन्। रोजगारी र कृषि समस्याहरू पनि यथावत् छन्।”
दुर्गा भगवती–५ निवासी पार्वती देवीले मतदातामा चुनावी उत्साह कम भएको बताउँदै, “भोट दिएर के लाभ? वर्षामा बाढी र डुबान, रोजगारीको अभाव—यस्ता समस्या समाधान भएको छैन।” उनले बारम्बार आश्वासन दिने नेताहरूमा निराशा व्यक्त गरिन्।
यमुनामाई–७ निवासी रफिक मियाँले पुराना दलप्रति विश्वास नरहेको बताए भने गौर–१ निवासी सुरेश ठेलावालले जनताको बलिदानीले ल्याएको परिवर्तनको मौका मतदानमार्फत अझ स्पष्ट बनाउनुपर्ने बताए।
रौतहट–१ मा मुख्य राजनीतिक दलका उम्मेदवारहरूमा एमालेबाट अजयकुमार गुप्ता, कांग्रेसबाट अनिलकुमार झा, नेपाली कम्युनिस्ट पार्टीबाट माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेश कुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मदन शाह रहेका छन्। साथै, जसपा नेपाल, जनमत पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारसहित २१ स्वतन्त्र उम्मेदवार पनि छन्।
मतदाताको गुनासो र असन्तुष्टिलाई मध्यनजर गर्दै चुनावी अभियानमा उम्मेदवारहरूले विकास, रोजगारी र आधारभूत पूर्वाधारको मुद्दामा जोड दिने देखिन्छ।



