वीरगन्ज, २८ माघ – पर्सा क्षेत्र नं. १ का नेकपा (एमाले) उम्मेदवार पूर्वमन्त्री प्रदीप यादवले वीरगन्जमा पानीको हाहाकारको समयमा तत्काल जनताको जीवनरक्षा र सुविधा सुनिश्चित गरेको बताएका छन्।
वीरगन्ज–३० टेढा रामवनमा मंगलबार आयोजित एमाले पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले भने, “जुन समयमा वीरगन्जमा खानेपानीको संकट चरममा पुगेको थियो, म संयोगले त्यस समय खानेपानी मन्त्री थिएँ। समस्या थाहा पाउने बित्तिकै म काठमाडौंबाट वीरगन्ज आएँ र २४ घण्टाभित्रै प्रत्येक टोल र गल्लीमा डीप बोरिङ गाड्ने काम सुरु गराएँ। घरघरमा पानी खुवाउने व्यवस्था पनि तत्काल गरियो।”
उहाँले अहिले वीरगन्जमा खानेपानीको समस्या पूर्ण रूपमा समाधान भइसकेको उल्लेख गर्दै, त्यस बेला खानेपानी मन्त्रालयमार्फत ४ सय ५० करोड बजेट वीरगन्ज महानगरपालिकामा पठाएर दीर्घकालिन समाधानका लागि आयोजना निर्माणको काम थालिएको बताए। “यो आयोजना तीन वर्षभित्र सम्पन्न हुन्छ। त्यसपछि वीरगन्जमा कहिल्यै पानीको समस्या हुने छैन,” उनले स्पष्ट पार्नुभयो।
कोरोनाको महामारीका चुनौतीका बीच पनि जनताको जीवन र स्वास्थ्यको रक्षा गर्न आफ्नो जिम्मेवारी निभाएको स्मरण गर्दै यादवले आफ्नो उम्मेदवारी संविधानको रक्षा र मधेसका अधिकार सुरक्षित गर्नका लागि दिएको बताए।
उहाँले जोड दिंदै भने, “मधेस, महिला, दलित र थारूको अधिकार सुरक्षित रहोस् भन्ने मेरो लक्ष्य हो। यदि एमालेले जितेन भने मधेसका अधिकार जोखिममा पर्न सक्छन्। मलाई जिताएर पठाउनुस्, म यी अधिकार सुनिश्चित गर्छु।”
एमाले उम्मेदवार यादवले मधेसका बाँकी रहेका अधिकार सुनिश्चित गर्न संविधान संशोधन आवश्यक रहेको र त्यसका लागि पनि जनताले एमालेलाई जिताएर पठाउनुपर्नेमा जोड दिए।
यो अवसरमा यादवले आफ्नो नेतृत्व र परिणाममुखी कामका कारण जनताको विश्वास जित्न सफल भएको प्रष्ट देखिएको छ।



