बीरगन्ज,२७ माघ । जीतपुरसिमरा उपमहानगरपालिकामा अब स्थानीय तहबाटै करदाता सेवा उपलब्ध भएको छ। सोमबार उपमहानगरपालिका र आन्तरिक राजस्व कार्यालय सिमराको संयुक्त आयोजनामा औपचारिक रूपमा सेवा शुभारम्भ गरिएको हो।
नगरप्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्थानीय सेवाग्राहीलाई व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) र व्यवसायिक प्रमाणपत्र वितरण गर्दै सेवा सञ्चालनमा ल्याइएको थियो। सो अवसरमा सेवा लिन आएका पहिलो करदातालाई पनि सम्मान गरिएको थियो।
आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख दिनेश पाण्डेका अनुसार, देशभरका उपमहानगरपालिकामध्ये पहिलोपटक जीतपुरसिमराबाट करदाता सेवा सुरु भएको हो। मन्त्रिपरिषद्को कार्तिक १७ गतेको निर्णयअनुसार सबै स्थानीय तहबाट कर सेवा उपलब्ध गराउने नीतिअनुरूप सेवा विस्तारको प्रक्रिया अघि बढाइएको उनले बताए।
अब उपमहानगरपालिकाबाटै प्यान दर्ता, व्यवसाय दर्ता, करचुक्ता जस्ता सेवा उपलब्ध भएपछि करदाताले सदरमुकाम वा अन्य कार्यालय धाउनुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ। यसले समय र खर्चको बचत हुने मात्र होइन, कर प्रणालीप्रति नागरिकको पहुँच र विश्वास बढाउने विश्वास पनि लिइएको छ।
उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख रामेश्वर बन्जाराका अनुसार करदाता मैत्री सेवामा प्यान दर्ता, करचुक्ता लगायतका सेवाहरू पालिकाबाटै प्रदान गरिनेछन्। नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले व्यवसायीहरूले कर तिर्न जाँदा भोग्दै आएको कठिनाइ कम हुने र स्थानीय तहबाटै सेवा उपलब्ध हुँदा प्रत्यक्ष लाभ पुग्ने बताए।
आन्तरिक राजस्व विभागका निर्देशक मदन दाहालले हालसम्म ३२ स्थानीय तहबाट करदाता सेवा सुरु भइसकेको जानकारी दिँदै आगामी आर्थिक वर्षदेखि ७५३ स्थानीय तहमा सेवा विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिए।
नगरप्रमुख पौडेलले करदाता सेवाको प्रभावकारी सञ्चालनका लागि प्रमुख प्रशासकीय अधिकृतमार्फत व्यवस्थापन गर्न आग्रह गर्दै, सेवाग्राहीको चाप बढ्न सक्ने भएकाले कर्मचारी कम्तीमा आठ महिनासम्म खटाउन सुझाव दिएका छन्। उनले स्थानीय तहबाट उपलब्ध हुने कर सेवाको अधिकतम उपयोग गर्न व्यवसायी र नागरिकलाई आग्रह गर्दै यसले स्थानीय सरकार र करदाताबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
उद्धाटन कार्यक्रममा उपप्रमुख भोला प्रसाद अधिकारी, वडा नम्बर १५ का वडाध्यक्ष रामप्रसाद लामिछानेसहित जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूको उपस्थिती रहेको थियो।



